स्थानीय

भोजपुरको हतुवागढी ‘लिफ्ट’ आयोजनाको काम अन्तिम चरणमा

भोजपुर, २६ मङ्सिर । भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अनुमानित कुल रु १८ करोड ५३ लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो आयोजनाको पाँच स्थानमा ट्याङ्की र पालेघर निर्माणसँगै चार हजार दुई सय मिटर मुख्य पाइप लाइन विस्तारको काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । अब शाखा लाइन विस्तार र करिब एक सय ५० मिटर मुख्य पाइप बिच्छ्याउन बाँकी रहेको समितिका अध्यक्ष बलबहादुर मगरले बताउनुभयो ।

“आयोजनाको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “कामलाई तीव्ररूपमा अघि बढाएका छौँ । हाल मुहानबाट करिब एक सय ५० मिटर मुख्य पाइप लाइन विस्तार गर्न बाँकी छ । विद्युत् विस्तारपछि पानी वितरणको काम थालनी गर्छौँ । बर्सेनि थोरै बजेट विनियोजन हुँदा काममा केही ढिलाइ भएको अवस्था छ ।”

यो आयोजनाबाट हतुवागढी गाउँपालिका वडा नं १ र २ रानीबासका करिब आठ सय ४८ परिवारलाई पानी विस्तार हुने उपभोक्ता समितिको भनाइ छ । हेङ्माखोला र कावाखोलाको बीचबाट लिफ्ट गरेर पानी बस्तीमा ल्याउन आर्थिक वर्ष २०७५÷७६ बाट आयोजना निर्माण थालिएको हो ।

निर्माण भइरहेको आयोजनास्थलको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले स्थलगत अनुगमन गरेको छ । योजना सञ्चालन भइरहेको स्थानमा देखिएका समस्या समाधान गरेर चाँडो पानी सञ्चालन गर्ने लक्ष्यका साथ काम अघि बढाएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताउनुभयो । भौतिक निर्माणको काम करिब अन्तिम चरणमा पुगेकाले अब विद्युत् विस्तार गरेर पानी वितरणको काम सुरु गर्ने तयारी रहेको प्रमुख सिंहको भनाइ छ ।

“यो योजनाको पाइप लाइन विस्तारसँगै अन्य संरचनाको काम करिब अन्तिम चरणमा पुगेको छ”, प्रमुख सिंहले भन्नुभयो, “अब विद्युत् विस्तारको काम बाँकी छ । यो पनि चाँडो सुरु गरेर पानी सञ्चालन गर्ने लक्ष्य छ । तत्काललाई हामीले पहिलो लिफ्टमा पानी फाल्ने तयारी गरेका छौँ ।”

स्थलगतरूपमा योजनाको अनुगमन गरेर आवश्यक कामलाई तीव्रता दिइएको कार्यालयको भनाइ छ । क्रमगत योजना रहेकाले यो वर्ष यहाँ थप काम गर्नका लागि रु ५८ लाख बजेट विनियोजन भएको कार्यालयको भनाइ छ । प्रदेश सरकारबाट थप बजेट आएमा यो आर्थिक वर्षमा सम्पूर्ण ट्याङ्कीमा पानी खसाल्न सकिने प्रमुख सिंहले बताउनुभयो । “यो क्रमागत योजना हो”, उहाँले भन्नुभयो, “प्रदेश सरकारबाट बर्सेनि थोर–थोरै बजेट विनियोजन हुने गरेको अवस्था छ । पर्याप्तरूपमा बजेट आएको खण्डमा यो आर्थिक वर्षमा आयोजनाको काम सम्पन्न हुन्छ ।”

आयोजनाको कामलाई समयमा सम्पन्न गराउन आवश्यक भूमिका खेलिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । कतिपय खण्डमा योजना सञ्चालन पूर्व स्थानीय तहमा समन्वय नगरिँदा समस्या हुने गरेको अध्यक्ष राईको भनाइ छ । योजना सञ्चालनपश्चात यसको दिगो व्यवस्थापन गर्न उपभोक्ता समिति, खानेपानी कार्यालय र स्थानीय सरकारले लिखित निर्णय गरेर योजनाबद्धरूपमा काम गर्नुपर्ने उहाँको भनाइ छ ।

“योजनालाई सम्पन्न गराउन हामीले पनि आफ्नो तहबाट भूमिका खेलिरहेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “प्रदेश सरकारबाट पर्याप्त बजेट नआउँदा काममा केही ढिलाइ भएको अवस्था पनि छ । यसलाई समयमा सम्पन्न गराएर यसको दिगो व्यवस्थापनका लागि काम गर्न आवश्यक छ ।”

योजनाबाट पानीको समस्यामा रहेका स्थानीयलाई राहत मिल्ने हतुवावढी–१ का अध्यक्ष कुमार विष्टले बताउनुभयो । यो आयोजनाबाट यहाँका तीन सय बढी परिवारले पानीको उपभोग गर्न पाउने उहाँको भनाइ छ । “यहाँका स्थानीय पानीको पर्खाइमा रहेको अवस्था छ”, उहाँले भन्नुभयो, “हामीले पनि आयोजना समयमा सम्पन्न गराउन भूमिका खेलिरहेका छौँ । पानी बस्तीमा आएपश्चात वर्षौँबाट रहँदै आएको पानीको समस्या अन्त्य हुनेछ ।”

वडाको तर्फबाट बाटो मर्मत गर्नेलगायतका काम गरेको हतुवागढी–२ का वडाध्यक्ष विचारी थापाले बताउनुभयो । वडाको तर्फबाट ठूलो काम गर्न नसके पनि यो योजना सम्पन्न गराउन सडक विस्तारलगायत काम गरिरहेको उहाँको भनाइ छ । यो आयोजनाबाट यहाँका चार सय ५० बढी स्थानीयले पानीको उपभोग गर्न पाउने वडाध्यक्ष थापाले बताउनुभयो । -रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button