युके विशेष

मुन्दुमी त्रुटी देखिएकोले तीन चुला परिवर्तन

बेलायतमा मनाइयो यलेदोङ

लण्डन । बेलायतमा प्रथम किरात राजा यलम्बर हाङले शुरुवात गरेको संवत यलेदोङ ५०८४ मनाइएको छ ।

किरात राई यायोक्खा बेलायत केन्द्रीय समितिको आयोजनामा किरात राई भाषिक संस्थाहरुसँग संयुक्त आयोजित कार्यक्रम बेलायतको किरात भूमि किरात राई हाउस गेम्बल लेनमा एक कार्यक्रम गरी सो सम्वत मनाइएको हो ।

अध्यक्ष मेजर रिटायर्ड योगेस कोयी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा प्रमुख अतिथि रहेका थिए भने किरात याक्खा छुम्मा बेलायतका अध्यक्ष याम याक्खा, किरात राई थुलुङ सामाका सल्लाहकार कमल थुलुङ राई, जिमी राई समाज बेलायतका अध्यक्ष सहवीर राई, कलाकार मेनुका राई, डा. सुमाया राई, नरहाङ राई लगायत विभिन्न किरातजन्य संस्थाहरुका अतिथिहरुको उपस्थिति रहको थियो ।

कार्यक्रमको पहिलो चरणमा केही साल अगाडी स्थापित तीन चुला परिवर्तन गरिएको थियो । मुन्दुमी विधा प्राप्त वरिष्ठ नछुङमा गीता बान्तवा राई र किताबशेर राईको जोखनाअनुसार गत उधौली कार्यक्रममा किरात राई शक्तिकेन्द्र पनि मानिने तीन चुलामा केही मुन्दुमी त्रुटी देखिएकोले चुला परिवर्तन गर्नु परेको बताइएको छ । तीन चुलामा प्रयोग गरिने ढुंगामा सेतो दर्शने ढुंगा मिसिएको परेमा तथा चुला फुटेमा वा चोइटिएमा अशुभ हुने, कलह हुने विश्वास छ । चुला परिवर्तन लगत्तै त्रिवेणी मानेर निर्माण गरिएको काठको धारामा उपस्थित सबैले पानी अर्चाउँदै मकर नुहाउँदै तरुल कन्दमुलका टीका तथा आशिर्वाद ग्रहण गरेका थिए । मकर नुहाइसके पछि विभिन्न भाषिक संस्थाहरुले तयार गरेका तरुल तथा विभिन्न किराती परिकारहरु खाँदै औपचारिक कार्यक्रम गरिएको थियो ।

किरात राई भाषिक संस्थाहरु किरात राई चाम्लिङ खाम्बतिम बेलायत, किरात पुमा राई तुप्खाबाङखाला, लोहोरुङ राई समाज युके, कोयी/कोयु सोदेल खिम, थुलुङ राई सामा युके, जिमी राई समाज आदिको सहभागिता रहेको थियो साथै सहभागी भाषिक संस्थाहरुमार्फत तीनपाने, सुंगुरको भुटुवा, छनुवा जाँड, तोङवा, भाती जाँड, बाचिपा, किनेमा, गुन्द्रुक, सेल रोटी, तरुल आदि किराती परिकारहरुको प्रदर्शनी तथा खाने ब्यवस्था गरिएको थियो ।

औपचारिक कार्यक्रममा उपाध्यक्ष आशा राईले स्वागत मन्तब्य गरेका थिए भने उपाध्यक्ष तथा कार्यक्रम संयोजक मेजर रि. भुपजित राईले कार्यक्रम तथा किरात राई हाउस र श्रमदानको बारेमा बोलेका थिए । मुन्दुमविद् दिलबहादुर राईले किरात संस्कार संस्कृति र पूर्वमहासचिव नरेश काङमाङले यले संवत सन्दर्भमा बोलेका थिए ।

कार्यक्रममा किराया बेलायतका संरक्षक नरहाङ राई, किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष चन्द्र जयपाल राई, किराया बेलायत शाखा लन्डनका अध्यक्ष बिमला राई, किरात याक्खा
छुम्मा बेलायतका अध्यक्ष याम याक्खा, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पाले शुभकामना मन्तब्य दिएका थिए । मन्तब्यको क्रममा महासंघका अध्यक्ष शेर्पाले नया संवतको शुभकामना दिनुका साथै किरात राई एकता, किराती परिकारहरु र भाषिक संलग्नताको खुलेर प्रशंसा गरे ।

नेपालबाट आउनु भएका कलाकार मेनुका राई तथा गीतकार तथा वासुरीबादक शेमन्त वालाक्पा राईको सांगीतिक प्रस्तुतिसहित कार्यक्रम साँझ समापन भएको थियो ।
समय अभावको कारण पूर्व निर्धारित श्रमदान अभियान ३ कार्यक्रम भने स्थगित गरिएको थियो ।

कार्यक्रम समापन गर्दै अध्यक्ष मेजर योगेस कोयी राईले सबैलाई यलेदोङ ५०८४को शुभकामना प्रदान गर्दै सबैलाई एकवद्ध भएर श्रमदानमा सहभागी हुन आग्रह गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button