समाचार

महासङ्घको अधिवेशन विधानबमोजिम गर्नुपर्ने प्रेस सेन्टर नेपालको माग

काठमाडौँ, २६ चैत : प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकले नेपाल पत्रकार महासङ्घको अधिवेशन विधानबमोजिम तोकिएको समयमा अनिवार्य रूपमा गर्न माग गरेको छ । पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको अधिवेशनका विषयमा विभिन्न कोणबाट विषयहरू आइरहेका सन्दर्भमा प्रेस सेन्टर नेपालले सो माग गरेको हो ।

प्रेस सेन्टर नेपालको आइतबार राजधानीमा सम्पन्न बैठकमा अध्यक्ष विष्णु सापकोटाले पत्रकार महासङ्घ साझा संस्था भएकाले सहमतिका आधारमा समस्या समाधान गरी अगाडि बढ्न आग्रह गर्नुभयो । बैठकले सदस्यता शुद्धीकरण अभियानलाई विगत साधारणसभाको ‘म्यान्डेट’अनुसार नै सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाको प्रमुख उपस्थितिमा सम्पन्न उक्त बैठकले समानुपातिक विज्ञापन नीतिलाई कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । बैठकमा उपाध्यक्ष सापकोटाले तीनै तहका सरकासँगको समन्वयमा मिडिया बचाउने र पत्रकार टिकाउने योजना निर्माण गर्नुपर्ने बताउनुभयो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार मिडिया मैत्री रहेको र सञ्चार कानुनहरू निर्माणमा लागिरहेको बताउनुभयो । उहाँले कानुन निर्माणमा र नीति कार्यक्रममा रचनात्मक सुझाव–सल्लाह दिन प्रेस सेन्टरसँग आग्रह गर्नुभयो । उहाँले आमसञ्चार विधेयकमार्फत सञ्चार क्षेत्रमा पुनःर्सरचना गर्न लागिएको उल्लेख गर्नुभयो ।

बैठकमा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग सचिव गोविन्द आचार्यले सङ्गठनको भावि योजना र नेपाल पत्रकार महासङ्घलगायत साझा सञ्चार संस्थाहरूमा खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिनुभएको थियो । बैठकले सङ्गठन विस्तार र सुदृढीकरणसहित स्वरोजगार मिडिया, समानुपातिक विज्ञापन नीति कार्यान्वयन तथा सङ्गठनको आन्तरिक पक्षमा महत्वपूर्ण निर्णय लिएको महासचिव सन्तोष पौडेलले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button