स्थानीय

थारू बस्तीमा माघीको चहलपहल सुरु

देउखुरी (दाङ), १२ पुस : माघी नजिकिएसँगै दाङका थारू बस्तीमा चहलपहल सुरु भएको छ । थारू जातिको सबैभन्दा ठूलो पर्व माघी आउनुभन्दा एक महिनाअघिदेखि तयारी भइरहेको छ । थारू समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्दछन् । पर्वमा थारू समुदायमा गाउँका महतवा (अगुवा)को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउछन् ।

अहिले थारू बस्तीमा नाचगान र खानपिनको तयारी भइरहेको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका सोमती चौधरीले बताउनुभयो । माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याउने काम भइसकेको उहाँले सुनाउनुभयो । “खानाका परिकार बनाउन एक महिनाअघिदेखि तयारी गर्नुपर्ने हुन्छ, त्यसैको तयारीमा लागेका छौँ”, सोमतीले भन्नुभयो, “ढिक्री, रोटी पकाउने, अनदीको विशेष झोल (जाँड) र भातलगायत विशेष मीठा–मीठा परिकारको तयारीमा जुटेका छौँ ।” पुसमा तयारी गरेर माघे सङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघी पर्व मनाउने गरेको उहाँले बताउनुभयो ।

थारू समुदायले माघमै आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेषरूपमा लिइँदै आएको घोराही–६ का भीमबहादुर चौधरी बताउनुहुन्छ । उहाँले वर्षभरिको योजना माघमा बनाइने भएकाले पनि थारू समुदायका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । थारू जातिले माघलाई नाचगान, खानपिनमा विशेष महत्व दिने गर्दछन् । वर्षभरि गरेका कामको समीक्षा गर्ने र आगामी कामको योजना बनाउने चौधरीको भनाइ छ ।

थारू समुदायका व्यक्तिले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्छन् । गाउँभरिका मानिस एकैठाउँ जम्मा भएर आगो ताप्ने र भाले बासेसँगै नदी तथा खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिएर घरमा आएपछि खिचडी दान गर्ने प्रचलन छ । खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइन्छ । यसरी छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली)का रूपमा चेलीबेटीका घरमा पुर्याउने प्रचलन रहेको मतहवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

माघीको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर, सुँगुर (थारू भाषामा जिता मार्ना) मारेर बराबरी बाँड्ने चलन छ । गँगटा, माछासँगै घोङीको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीका अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार र करुण रसले भरिएको घोराही उपमहानगरपालिका–३ का मतहुँ हिमलाल चौधरीले बताउनुभयो ।

“थारू समुदायमा माघलाई नयाँ वर्षका रूपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ । माघीमा घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीलगायतका अन्य व्यवहारको नवीकरण गरिन्छ”, चौधरीले भन्नुभयो ।

माघ महोत्सवको तयारी

थारू कल्याणकारिणी सभा दाङ देउखुरीको आयोजनामा घोराहीमा बृहत् माघी महोत्सव हुन थालेको छ । थारू समुदायको मौलिक कला, संस्कृति विकास गर्नमा थप सहयोग पुग्ने उद्देश्यले माघ महोत्सवको आयोजना हुन लागेको छ ।

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीका अवसरमा यही पुस २० र २१ गते माघ महोत्सव गर्न थालिएको हो । थारू कल्याणकारिणीसभा दाङका अध्यक्ष अशोक चौधरीले थारू समुदायको संस्कार र संस्कृति बोकेको महान् पर्वका अवसरमा माघ महोत्सव गर्न लागिएको बताउनुभयो । दुई दिनसम्म लाग्ने महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि अध्यक्ष अशोक चौधरीको संयोजकत्वमा ५१ सदस्यीय महोत्सव मूल आयोजक समिति बनाइएको छ ।

दीपकनारायण चौधरीको संयोजकत्वमा आर्थिक उपसमिति बनाइएको छ । समितिका सदस्यमा शोभाराम चौधरी, अनिल चौधरी, अर्नब चौधरी, रामपति चौधरी र नगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै सन्तोष दहितको संयोजकत्वमा पाँच सदस्यीय प्रचार–प्रसार समिति बनाइएको छ । जसको सदस्यमा सवि थारू, श्रीनारायण चौधरी, आरएम जगत् कुसुम्यालाई जिम्मेवारी दिइएको छ ।

जिल्ला समन्वय समितिको परिसरमा महोत्सव सञ्चालन गरिने छ । माघ महोत्सवमा दाङका सबै स्थानीय तहका मघौटा नाचलगायतका अन्य थारू नाच देखाउने कार्यक्रम आयोजकले जानकारी दिएका छन् । महोत्सवमा थारू परिकार, तथा थारू समुदायका हस्तकला, थारू वेशभूषालगायतका सामग्री प्रदर्शनीमा राखिने थारू कल्याणकारी सभाका सहसचिव श्रीप्रसाद चौधरीले जानकारी दिनुभयो ।

उहाँले थारू समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको सुनिश्चिताका लागि महोत्सवमार्फत घोराहीमा थारू समुदायको सशक्त उपस्थिति रहने बताउनुभयो । दुईदिने महोत्सवमा मघौटा, छोक्रा, हुडुङ्यालगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत हुने महोत्सव मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीले जानकारी दिनुभयो ।
-रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button