लेख

डिलिन्कङ, रिलिन्किङ लिन्किङ पुर्खाहरुसंग जोड्ने शिद्धान्त: डा मारोहाङ खवाहाङ – कृष्णकुमार हेम्ब्या

​जीवन र जगतलाई हेर्ने, बुझ्ने, व्यख्या र अभ्यास गर्ने आआफ्नै विश्वदृष्टि हुन्छन । याक्थुङ पुर्खाहरुले हजारौ वर्ष लगाएर निर्माण गरेको ईम्बिरी याङधाङवा खासाम (सभ्यता) अरुभन्दा भिन्न र विशिष्ट प्रकृतिको छ । ईक्सादिङ खाम्बेकसंगै हावा, पानी, आगो, वनस्पति, पुशुपंछी र मान्छेको जन्म विकास किन कहिले केबाट कसरी भए? यिनीहरुबीचको संवन्ध के हो ? यी सारा विषय र बस्तुलाई हेर्ने हाम्रा आफ्नै याक्थुङ चेतना र विश्व दृष्किोण छन । खासगरी प्रकृति मानव समाज विकास र सम्बन्धको ज्ञानको स्रोत मुन्धुमलाई याक्थुङ मुन्धुम दृष्टिकोण मानिन्छ ।

​येवा, फेदाङमा साम्वाहरुले वाचन गर्दै आएका हाम्रा मुन्धुमी सांस्कृतिक मूल्य र सौन्दर्य दृष्टिकोणको थप व्यख्या गर्ने काम तुम्याङहाङहरुको हो ।

​पछिल्लो समय देशविदेश पढेका केही हाम्रा याक्थुङ अध्यता, तुम्याङहाङ र रहलपहल मुन्धुमका ज्ञाता साम्बा, येबा फेमाङहरुबीच मुन्धुमको प्राज्ञिक वहस हुन थालेपछि यसले बिश्व जगतको ध्यान आकर्षण हुन थालेकोछ ।

कृष्णकुमार हेम्ब्या

​डा. मारोहाङ खवाहाङ हाल मिचिगन स्टेट युनिभरसिटीमा लेखन, साहित्य शास्त्र र अमेरिकी संस्कृतिका सह प्राध्यपककारुपमा सक्रिय तुम्याङहाङ हुन ।

​हामी डा मारोहाङ खवाहाङलाई याक्थुङ मुन्धुमी ज्ञानको खोज अन्वेषण कार्यमा अग्रणी अध्यताको रुपमा चिन्दै आएकाछौं । उहाले याक्थुङ जातिको सिरिजङगा लिपिको बिषयमा गहिरो अध्ययनगरी ‘डिलिन्किङ, रिलिन्किङ एण्ड लिन्किङ राइटिङ एण्ड ह्रेटोरिक्स’ शिर्षकमा एउटा गहकिलो कृति प्रकाशमा ल्याएपछि यसको पुष्टि भयो । आज यही पुस्तक सेरोफेरोमा रहेर यसको निर्मम समिक्षा गरिन्छ ।

​यो नितान्त पाठकीय समिक्षा हो । बन्दी खामको पैसा खल्तीमा हालेर आँखा चिम्मगरी कृतिको हाइहाई गर्ने काम भाडाका बुद्धिजीवीको काम हो । लेखकको गुणगान र प्रसंशा भन्दा पनि लेखकको ऐतिहासिक कार्यको कदर गर्दै यो पुस्तकले यक्थुङ समुदायमा दिन खोजेका सन्देश र पाठकको आँखाले देखेका उहाँले छुटुाउनु भएका केही विषय र नहुनुपर्ने विषयहरुमासमेत सचेत गराइन्छ ।

खण्ड एकः ऐतिहासिक पृष्टभूभी
​पहिलो खण्ड सिरिजङगा लिपिको सैदान्तिक लेखन प्रचलन रुपरेखाको ऐतिहासिक पृष्टभूमिको विमोचना गरिएको छ । मानव समाजको उत्पति र विकासका सुरुमा कठीन जीवन चलाउने क्रममा आवश्यकताले याक्थुङ पुर्खाहरुका सावा येत्हाङ युगमानै बोलिने भाषासंगै लेखन (लिपि) परम्परा विकास भएपनि यसको नामाकरण सिरिजङगा लिपि चाही श्री याक्थुङ हाङ चुम्लुङ (१९२५) स्थपनापछि मात्र गरिएको तथ्य पेश गरेका छन । पहिला यसलाई किरात लिपि, किरात याक्थुङ लिपि, किरात याक्थुङ अक्षर, लिम्बू लिपि अनेक नाम थिए । लेखकको भनाईमा यो पुरानो सिरिजङगा लिपि थियो र यसको ध्वनी प्रणाली, शब्द बनावटको आधारमा ओरिजनल थियो र यसको आविष्कार नितान्त थिवोङ याक्थुङ ज्ञान र अनुभवहरुको परिणाम थियो । पुरानो सिरिजङगा लिपिमा देवानागिरी (हिन्दि/नेपाली), रञ्जना (नेवारी) वा साम्बोटो (तिब्बती ) प्रभाव पाइदैनन उहाँको अध्ययनको अन्तिम निष्कर्ष हो ।

यो खण्डमा थिवोङ याक्थुङ सुहाङले कृषि युगको सुरुमानै आफुलाई आवश्यक पर्ने भाषा, लिपि, संस्कृतिसहितको सभ्यता बिकास गरी सकेको एक बिशिष्ठ जाति भएको पुस्तकमा छ ।

खण्ड २: सिरिजङगा हाङ र लिपिको विकास
​सिरिजंङगा लिपि लेखन, वाचन र याक्थुङ सभ्यता संस्कृति निर्माणको ऐतिहासिक विकास क्रममा सिरिजङगा हाङको देनलाई खण्ड दुईमा निर्मम समिक्षा गरिएको छ । नवौं शताब्दीका सिरिजङगा राजकाजमा कुशल साशक, मुन्धुम ज्ञाता र महान विचारक तथा दार्शनिक हाङ थिए ।

​कुनै काम गर्नु भन्दा पहिले सोच्नुपर्ने हुन्छ । सोच्नका लागि भाषा चाहियो । झन याक्थुङहरुको समृद्धिको लागि भाषा नभइ हुन्नथ्यो । भाषालाई लेखन परम्परामा लान लिपिको आवश्यक थियोनै । र यसका लागि सिरिजङगा हाङ हाम्रो लागि बरदान सावित भएको डा मारोहांगको बुझाई हो ।​”एकदिन निसामङले सिरिजङगा हाङलाई माथि फक्ताङलुङको कुनै अनकन्टार ​गुफामा लगेर ​ढुंगामा खोपेको अक्षर तीन महिना लगाएर पढ्न र लेख्न सिकाए । ​निसामङकै इच्छाअनुसार ​सिरजङगा हाङले प्राप्त ज्ञानलाई याक्थुङ लाजेभर ​पढ्न र लेख्न सिकाउने अभियान चलाए । ​त्यो समय उनको राज्य सुखिम, ​भोटाङ, आसाम हुंदै अरुञ्चल प्रदेशसम्म फैलिएकोले सिरजङगा हाङले यो ​लिपिको विस्तार गरेको थिए ।”

​सिरजङगा हाङपछि झण्डै एकहजार वर्ष सिरजङगा लिपि लेखन र प्रयोग भएका कतै प्रमाणहरु प्राप्त नभएको लेखकको अध्ययनले देखाएको छ । लामो समयपछि सिनामका तेअङसी सिरजङगासिं थेवेले याक्थुङ समुदायलाई पुन सिरिजङगा लिपि अभ्यासमा फर्काएको पुलको काम गरेको छ ।

खण्ड ३: रिजङगा लिपिमाथि प्रहार
​खस-आर्य राज्य सत्ताको हस्तछेपसंगै याक्थुङहरुलाई सिरिजङगा लिपि पढ्न र लेख्नबाट अलग हुनका ऐतिहासिक घटना खण्ड तीन केन्द्रीत छ । सिरिजङगा लिपि सिक्ने सिकाउनेहरुलाई राज्यले योजनावद्ध दमन, देश निकाला र हत्यासमेत गरिएका उनले अनेक तर्क, तथ्य, सन्र्दभहरुसहित पेश गरेका छन ।

​खस-आर्य सत्ताले हाम्रो भाषा, लिपि, संस्कृति ध्वस्त पार्ने प्रायोजित कार्यक्रमअनुसार नै याक्थुङ समुदायलाई नीति र समरिति बर्गिकरण गरिएको लेखकले दावी गरेका छन । एउटै राज्यमा रहे याक्थुङहरु भाषिक, आर्थिक, सामाजिक एबम् राजनीतिक अवस्था बलियो भइ उनिहरुको सत्ता ढल्ने डरकै कारण याक्थुङ लाजे फुटाएर नेपाल, सुखिम र भारत तीन देशमा खण्डित भएको डरलाग्ग्दो षडयन्त्रको पर्दाफास गर्न यो पुस्तक सफल भएको छ । फलस्वरुप याक्थुङ समुदाय लामो समय सिरिजङगा लिपि लेख्न र पढ्नबाट डिलिङकिङ (बिच्छेद) हुन पुगे ।

खण्ड ४: सिरिजङगा लिपि लेखाई/पढाई पहिलो लहर
​ राज्यको प्रायोजित दमनबाट करिव करिव लोप भइ सकेको हाम्रो लिपि ब्रिटिश सेनाबाट अवकास प्राप्त लाहुरे र बिभिन्न कारणले बिदेसिएका याक्थुङहरुको प्रयास कोशेढुंगा थियो र यसलाई लेखकले सिरिजङगा लिपि लेखाई पढाई पहिलो लहर भनेका छन ।
​समग्रमा पहिलो विश्व युद्धपछि सिरिजङगा लिपि लेखन, प्रचार प्रसारको भेलबाढी आएपछि याक्थुङहरु आफनो लिपिसंग रिलिकिंङ (पुःन जोडिन) पुगेका डा मारोहाङको अध्ययनको निष्कर्ष सहि लाग्छन ।

​ डुग्रा बस्तीमा सन १९२५ तिर याक्थुङ एतिहासको पहिलो संस्था श्री याक्थुङ याक्थुहाङ चुम्लुङ जो अधिकांस पुर्व अवकास प्राप्त गोर्खा सेनाहरु थिए । र, उनीहरुलाई पल्टनमा रोमन गोर्खाली शिक्षा दिइन्थ्यो र यहीबाट उनीहरुमा लेखन पढाई संस्कृति विकास भयो । अंग्रेजी, हिन्दी, नेपाली साहित्यको प्रभावले विस्तारै आफ्नै मुन्धुम इतिहास खोज्न उनीहरुलाई सिरिजुगा लिपितिर आकर्षित भए । खासगरी सुबेदार बाजवीर थलंगले सिरिजंगा लिपिको नयाँ स्वरुप दिएपछि यो लिपिको प्रचार प्रसार दार्जिलिङ, कालिम्पोङ, सिक्किम, नेपाल, आसाम, बर्मासम्म पुगेको थियो र थुप्रै याक्थुङहरुलाई लिपि सिक्न पे्ररणा मिलेको थियो ।

​२० औं शताब्दीको प्रारम्भमा हाम्रो सिरिजङगा लिपिको अवस्था दौरा सकेर आगो बल्न छोडी चुल्हामा नपाकेको भाँडामा अधकल्ल्चो भातजस्तै थियो । अगेनामा आगो निभेपनि खरानीभित्र पुर्खाहरुले छाडेका विरासतको अग्राखी भुंग्रो थियो । त्येहीँ भुंग्रोमा हाम्रो प्रवासी याक्थुङहरुले ठोसठास गर्दै आगो बालेपछि मात्र करिव करिव हराउन लागेको आफ्नो मौलिक मुन्धुम र लिपिले पुन जीवन पाएको ऐतिहासिक घटनालाई डा मारोहङले आफ्नो प्राज्ञिक खुराक पस्कि दिएका छन । हो यहीनिर यो पुस्तकको महत्व र सान्धर्भिकताले मूर्तरुप लिएको छ ।

​सिरिजङगा लिपि जोगाउन भरखरै प्रवासी याक्थुङहरुले सल्काएको आगोलाई दन्काउन सिरिजङगा लिपि अध्ययन, प्रचार–प्रसार गर्दा याक्थुङ लाजे आठाराई छिन्ताङबाट लखेटिएका लालसोर सेन्दाङ त्येही हूलमा मिसिएर उनका यो लिपिप्रतिको अमूल्य योगदानको गहिरो अध्ययान गरी विभिन्न तथ्यहरु यो भागमा समावेस गरिएका छन ।

​हराई सकेको सिरिजङगा लिपिलाई पुन जोड्ने कार्य बाजवीर थलङ, लालसोर सेन्दाङ, रनध्वज नेम्बाङ, इमनानसिं चेम्जङ, फाल्गुनन्द, जोवानसिं फागो आदि धेरै अगुवा याक्थुङ अध्येताहरुको योगदानलाई निरपेक्ष ढंगले सबिस्तार राखिएको छ । पहिलो लहरको अन्तयता खासगरी पहिलो बिश्व युद्धमा भाग लिएका गोर्खाहरु देवानागरी र रोमन लिपिमा दिक्षित भएकै कारण सिरिजङगा हाङले आविष्कार गरेको पुरानो लिपिमा परिवर्तन आएको ऐतिहासिक घटनापनि डा मोराहाङको अध्ययनका अर्को महत्वपूर्ण र टिप्पणीयोग्य विषय हो ।

खण्ड ५: सिरिजङगा लिपि लेखाई/पढाई फर्केको दोस्रो लहर- पत्र मित्रता
​भारतको का
लिम्पोङबाट युद्धस्तरमा सुरु भएको पहिलो सिरिजङगा लिपि अभियानको लहर सुखिम, नेपालसम्म पुगि सकेको थियो । खस आर्य सत्ताको दमन हुदाहुदै हाम्रा अध्यताहरले पत्र मित्रता अभियानमार्फत सिरिजङगा लिपिलाई फर्काउन ठूलो योगदान पुर्याउको यो खण्डका पढ्न सकिन्छ ।

​लेखकले पत्र मित्रता अभियान आफैमा खस आर्य दमनको सशक्त प्रतिकारको भएको सबिस्तार प्रस्तुत गरेका छन । इमानसिं चेम्जङ (काठमाण्डौं), येहाङ लौती (पान्थर), हर्कजङ यक्सो (ताप्लिजङ), आत्मनन्द लिङदेन (इलाम), पुर्ण हाङस्रोङ (तेह्थुम), सुबेदार धनबहादुर आङाभाङ (मिरिक दार्जिलिङ), बिक्रम सम्बाङफे (कालिम्पोङ), बिबि र पिएस मुरिङला (सुखिम) जस्ताका नाम र स्थान हेर्दा यो अभियानले याक्थुङ लाजेका सबै थुमदेखि हाम्रा समुदाय रहेका प्रवास सबै स्थानमा प्रभाव परेको देखिन्छ ।

​दोस्रो लहर अभियान्ताहरुले बिद्यालयको लागि पाठ्यक्रम र बिभिन्न पत्रिका, पम्लेट र पुस्तकहरुसमेत प्रकाशनमा आए ।

खण्ड ६: तेस्रो पुनर्जागरण लहरः सिरिजङगा लिपि लेखाई/पढाईमा संस्थागत विकास
​२०४६ को जनआन्दोलनले पञ्चायती व्यवस्थाको अन्त र प्रजातन्त्र पुनस्थपनापछि नागरिक अधिकारसंगै पहिचानको राजनीतिले स्थान पाउन थाल्यो । दबेर बसेका जनजातिहरु आफ्ना भाषा, लिपि, संस्कृति, संस्कार जोगाउन वा पुन विउताउन संघसंस्थानै खोलेर मैदानमा उत्रिन थाले । २०४६ साल तिरै नन्द कन्दङवाको संयोजकत्वमा याक्थुङ चुम्लुङ स्थपना गरी याक्थुङ पाङभे पाङभेमा व्यापक पुनरजागरणको अभियान हुनथाल्यो ।

​सिरिजङगा लिपि पुनर्जागरणको लहर जताततै युद्धस्तरमा अगाडी बढेका पुस्तकमा चर्चा छन । गाऊ घरमै पढेलेखेका मान्छेहरु प्रसश्त थिए । अझ देशविदेशको भोगाइले गुमेको आफ्ना पहिचान फर्काउन सबैमा चेतनाको सुनामी आयो । पछिल्लो समयको टेलीफोन, इन्टरने, फेसबूक, युटुवजस्ता सामाजिक संजालले याक्थुङ ज्ञानको खोजी, प्रचारप्रसार र विस्तार गर्न अझ सहज बनाइ दियो । २०५३ तिर स्थानिय बिद्यालयमा सिरिजङगा लिपि पाठनपठन गर्न थालेपछि सबैको पहुँचमा पुग्यो ।

​पुनर्जागरण लहरले हामीलाई सिरिजङगा लिपिमा लिन्किङ राइटिङको व्यापक थालनी गरेका कारण सारा याक्दुङ समुदाय उत्साहित भएको डा मारोहाङको बिश्लेषण छ । सुखिमेहरुले छ दशकअघि बिद्यालयमा पढाउन थालेको लहर पछि उच्च शिक्षासम्म पुग्यो र यसले सुखिम भरी संस्थागत विकास भइ सकेको अवस्था छ भने याक्थुङ भाषा, लिपि, कला संस्कृति अध्ययन गर्ने उद्धेश्यले यता नेपालमा ‘लिम्बुवान स्टडी सेन्टर’ स्थपना भएकोमा डा मारोहाङ आफै भयंकर हौसिएको यो च्यप्टरमा पाइन्छ ।

भाग ७: अस्तित्वको संघर्ष
​याक्थुङ सुहाङको नाम र पहिचान (मिङसो इङसो) निर्माण, याक्थुङ लाजे अस्तित्वको लागि हाम्रा सावा येत्हाङ र थिवोङ याक्थुङ पुर्खाहरुले थुपै्र वलिादन दिएका छन । खस-आर्य केन्द्रीकित सत्ता र अन्य देशीविदेशीहरुको दमनकारी नीतिले समय समयमा हामी आफ्नै भाषा लिपि र याक्थुङ संस्कृतिबाट अलग हुन वाध्य भयौं । पुर्खाहरुको वलिदानीपूर्ण संघर्षबाट प्राप्त याक्थुङ पहिचान फर्काउन अबको पुस्ताले संघर्ष गर्नुपर्ने उनको निष्कर्ष र सुझाव अन्तिम खण्डमा छ ।

पाठकको आँखामा
​पृष्ट ४ मा ताईवान ब्रिटिशको उपनिवेस भएको प्रसंग उठेकोमा लेखक सजग भएको देखिएन । नुनपानी सन्धि सम्पन्न लगत्तै (पृ:८३) खस आर्य सत्ताले याक्थुङ समुदायलाई नीति र समरिति समुहमा बिभाजन गरेको तथ्यहरुलाई थप अध्ययन गर्नु आवश्यक छ । किनकि यो घटना नुनपानी सन्धि सम्पन्न चार दशकपछि मात्र भएको हुनुपर्छ । वि.सं १९७५ राजा राजेन्दविक्रम शाहका समय पूर्वको प्रमुख प्रशासनिक केन्द्र चैनपुर थियो र त्येही समयदेखि हरेक दश-दश वर्षमा किपट नाप्ने थालिएको हुनुपर्छ ।

​याक्थुङ युवालाई सेपोय बिद्रोह १८५७ (पृः१०५) मा प्रयोग भएको इतिहासले पुष्टि गर्दैन । बिद्रोहको झण्डै तीन दशक पछिमात्र पूर्वेली (राई लिम्बू) युवाहरु तत्कालीन इस्ट इण्डियामा भरना हुन थालेका हुन । अझ पूर्वेली पल्टन औपचारिक स्पना १८९१ तिर मात्र सम्पन्न भयो । यो बिद्रोहमा पश्चिममे पल्टनका मगर, गुरुंग र ठकुरी समुदायका युवाले भाग लिएका थिए ।

​याक्थुङ सुहाङहरुले आफ्नो भाषा, लिपि, संस्कृति जोगाउन देश बिदेशमा स्थपना गरेका संस्थाको नाम र स्थान भएपनि मिति छैन (पृः १८६, १८८, १९१, १९२) । मिति बिनाका दस्तावेजहरु अधुरा र अपुरा लाग्छन ।

​कुनै समय सुखिम याक्थुङ लाजेको (पृः२१३) अधिनस्थ भएको (सुखिम थुम) पुष्टि गर्ने ऐतिहासिक तथ्यहरु डा मारोहाङले पेश गर्न सकेका छैनन । बरु ‘ल्हो मोन च्वङ सुम’ त्रीपक्षीय सन्धीले सुखिमसंग जोडिएका याङरुकलगायतका केही याक्थुङ लाजेका थुमहरुले याक्थुङ स्वायत्त गुमाएको ऐतिहासिक तथ्यहरु पाइन्छन । यता सुखिमका याक्थुङहरुसंग याक्थुङ लाजे बस्ने हरेक याक्थुङ सयङहरुजस्तो आ-आफ्नै पुर्खौली भूमी (खाम्बोङ–लुङबोङ) मा व्यवस्थित बासस्थान छैन । नत त्यहाँ याक्थुङ सभ्यतालाई जोड्ने कुनै माङगेना यक (ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक) छ । याक्थुङ (लिम्बू) हरु कसरी सुब्बा बने पुस्तकभरी कतै स्पष्ट छैन ।

​खण्ड ५ मा डा मारोहाङले दावी गरेजस्तो पत्र मित्रता नभइ त्यो ‘साङ्ले पत्र’ सञ्जाल थियो भन्न सकिन्छ । पत्र मित्रता चिठीपत्र माध्ययम दुईजनाबीच आदनप्रदान हुन्छन । हाम्रा अभियान्ताहरु एकले अर्कोलाई पत्र लेखेपछि दोस्रोले तेस्रो, चौथो हुँदै धेरै रिङ जोडेर चेन (साङलो) बनेजस्तै संम्पर्क भएका सबैले आफ्नो ज्ञानलाई विस्तार गर्ने बृहत सामाजिक सञ्जाल साङ्ले पत्र अभियान थियो ।

​डा मारोहाङले आफ्नो रिसर्चमा देश बिदेशका याक्थुङहरु थुप्रै व्यक्तिगत र सस्थाद्धारा आफ्नो याक्थुङ पहिचान बचाउन दिलोज्यान लगाएर लागेको अनेकौ तथ्यहरु पेश गरेका छन । तर ती व्यक्ति र संस्थाले याक्थुङ समुदायको हितमा कति काम गरे, परिणाम के आए विषयमा मौन छन । रिसर्चका लागि लेखक आफै दुईपकट बेलायत आएरपनि उनले यूके चुम्लुङको वास्तविक कर्तुत देखेनन । यहाँको चुम्लुङ आफैले बनाएको बिधान विपरित क्रियाकलाप गरिरहेको अवस्था छ । याहाँको चुम्लुङ भाषा, लिपि, कला तथा सांस्कृति, संस्कार तथा संस्कृति कहिल्यै संस्थाको प्राथमिकतामा परेको छैन । यूकेको शक्ति र स्रोतलाई कहि नभएको यलम्बहाङ कप ९फूटबल० मा हरेक वर्ष दशौंहजार नाश गरी रहेको अवस्था छ । चुनाममुखि अबिधेशन गर्द गएको चुनावमा झण्डै २० हजार पाण्ड खर्च गरे । उता नेपालको चुम्लुङपनि किरात धर्म र सभ्यताको पक्षपोषण गर्दै आएको छ । अबको समयमा परिणामहरुकोसमेत समिक्षा हुनुपर्ने थियो । कहिले, कहाँ चुम्लुङ स्थपना भए भन्ने ऐतिहासिक तथ्यहरु पुस्तकमा आउनु राम्रो हो तर तिनका गतिविधि र परिणामहरकोसमेत निर्मम समिक्षा हुनुपथ्र्यो ।

​अर्का हाम्रो याक्थुङ पान र सिरिजङगा लिपि महत्व बारेमा एउटा सानो तर हाम्रो समुदायलाई दिनैपर्ने सन्देश यो पुस्तकमा छुटेजस्तो लागेको छ । यो ब्राह्मण्डमा ८ अर्व मान्छेसंग ७ हजार जति बोलिने मातृभाषामा एक याक्थुङ पान र लेखन प्रचलनमा केवल २९३ भाषाको मात्र अस्तित्वमा छन र ती मध्ये ४ लाख हामी याक्थुङ जातिको सिरिजङगा लिपि भनेर तथ्यांक राख्न सकेको भए राम्रो हुने थियो । पछिल्लो जनगणनमा नेपालमा करिव १३१ मातृभाषा र दर्जनभन्दा कम मात्र लिपिहरु अभ्यासमा छन ।

​पछिल्लो समय सिरिजङगा लिपिलाई गैर याक्थुङहरुपनि जवरजस्ति दावि गरेको अवस्था छ । तर लेखकको अरु भाषीको लागि आविष्कार गरिएकै थिएन भनेर ठोस दावी गरेको कतै छैनन ।
​च्याप्टर लामा-लामा भएकाले पढ्न असहज बनिदिन्छ । हामीजस्तो सरकारी स्कूल पढेकालाई डा मारोहाङको अंग्रेजीले दाँतमा पसिना निकालेको म आफैले भोगे ।

​यो पुस्तक नेपाली संस्करणमा आउने सुखद खवर छ । नेपाली संस्करणमा यी र यस्तै विषयहरुलाई समावेस गरियोस भन्ने मेरो आग्रह मात्र ।

भोगाईले जन्माएको नयाँ शिद्धान्त
​डा मारोहाङले यो पुस्तकमा राख्नु भएका सन्देशहरु खासै नया र नौलो छन भन्न सकिन्न । केही मिथककारुपमा हामीले गाऊँका युमा थेवा अग्रजहरुबाट सुन्दै आएकाछौ । घटनाका रुपमा बिभिन्न पत्रपत्रिका फेसबुक, युट्युबक सामाजिक संजालमा पढेकाछौं । हेरेकाछौं । हामीले जति सुनेका थियौं, पढेका थियौं, तीनका रुप टुक्रा-टुक्रि थिए । कतिपय अपुरा अधुरा र अपरिपक्क थिए । हो यस्तै टुक्रा-टुक्रि, अपुरा, अधुरा, अपरिपक्क र जताततै छरपस्ट याक्थुङ ज्ञानलाई डा मारोहाङको प्राज्ञिक चेतनाले एकीकृत दस्तावेजको रुपमा डिलिन्किङ, रिलिन्किङ लिन्किङ एउटा सेक्मुरी फुङ फुलाई दिएकाछन ।

​डिलिन्किङ, रिलिन्किङ एण्ड लिन्किङ राइटिङ एण्ड ह्रेटोरिक्स डा मारोहाङ व्यक्तिको नभएर सिंगो याक्थुङ समुदायको साझा सम्पति हो र यो आफैमा याक्थुङ लेखन साहित्यको मास्टरपिस कृति बनेकोमा शंका रहेन । मानव सभ्यताका बिभिन्न चरणहरुमा कुनै खास समुदायका खास भाषा लिपि संस्कृति संस्कारहरु कसरी हराउदै जाने र फेरी जोडिन नयाँ शिद्धान्तलाई उहाँले आफ्नो बौद्धिक क्षमतालाई न्यायपूर्ण प्रयोग गर्नु भएको छ । सिरिजङगा लिपि बिषयमा अंग्रेजी भाषामा पुस्तक आउनको महत्व बिशेष हुन्छ । जसरी आधा शताब्दी अघि मानवशास्त्री डोरबहादुर बिस्टले ‘पिपल अफ नेपाल‘ लेखेर लेपाली समाजको अदेखा सच्चाई बिश्वसामु चिनाए, डा मारोहाङले याक्थुङ समुदायको पुर्खाले निर्माण गरेको गौरवमय इतिहास दुँनियासामु पुर्याउने ऐतिहासिक जिम्मेवारी पूरा गरेका छन ।

​अमेरिकाको टेक्सास युनिभरसिटीबाट वाक्चातुर्य शास्त्रमा बिद्यावारिधी गरेका डा मारोहाङ खवाहाङ याक्थुङको आफ्नै भोगाईले जन्माएको यो कृति याक्थुङ जातिको लागि बरदान सावित भएको छ ।

​डिलिन्कङ, रिलिन्किङ लिन्किङ राइटिङ एण्ड ह्रेटोरिक्स पुर्खाहरुसंग जोड्ने शिद्धान्त हो । यो सिद्धान्त जन्मन्नुमा लेखकको जीवन भोगाई र ऐतिहासिक घटना क्रमहरुसंग संवन्ध रहेको उहाँ आफैले स्वीकारेका छन । उनले साम्बा भवानी अन्छङबोसंगको एक अन्तर संबादमा “मैले जीवनमा अनेक प्रतिष्ठित बिश्व बिद्यालयमा अनेकौं डिग्री उपाधी प्राप्त गरे तर आफ्नै याक्थुङ संस्कृति सभ्यतामा तपाई सामु काम नलाग्नेजस्तै भएको अनुभूति भयो” स्विकारोक्ती थियो ।

​डा मारोहाङको घरपरिवार, छरछेमेकीमा याक्थुङ पानभन्दा दोस्रो भाषा बोलिन्दैन थियो । बिद्यालयको कक्षा कोठा प्रबेश गरेकै दिन उनी नेपाली बोल्न नसकेकै कारण अपमानित भए । त्यो समय स्कूलमा नेपाली भाषा नबोल्ने नालायक जैगली या त कमसल ठहरिन्थे । बाध्यताले नेपाली भाषा सिक्दैगर्दा उनी याक्थुङ पानबाट बिस्तारै अलग (डिलिंकङ) हुंदै गए । माध्यमिक तहबाट उच्च शिक्षासंगै जागिर खांदै माथि फेरी उक्लिन्न नेपाली भाषा बाधकजस्तै बन्यो । अर्थात उनको नेपाली डिग्री काम नलाग्ने भएपछि उनले अंग्रेजी सिक्नैपर्ने भयो । अमेरीका पुगेर बिद्यावारिधी गर्दासम्म उनी याक्थुङ पान मात्र नभई याक्थुङ सुहाङ संस्कृति, संस्कारबाट करिव करिव बिच्छेद भई सकेको अवस्था हो ।

​अध्ययनसंगै डा मारोहाङको ज्ञान खारिदै गयो । बाहिरको संसार देखे बुझेपछि उनमा समाज बिकासको याक्थुङ बिश्व दृष्टिकोण र खाम्बोङ–लुम्बोङ सुगन्धले नोस्टलजोनिक बनायो । अर्थात देश खाएर शेष भएपछिमात्र लेखकको होस खुल्यो । मलाई लाग्छ, “डिलिन्किङ, रिलिन्किङ एण्ड लिन्किङ राइटिङ एण्ड ह्ेटोरिक्स” को जन्म लेखकको खारिएको ज्ञानसंगै भोगाईको उपज हो ।

टुंग्याउनी
​सिरिजङगा लिपिको आविष्कार, बिकास, बिस्तार, लेखन परम्परा, दस्तावेजीकरण र यो लिपि कमजोर हुंदै जानुका कारण बिषयमा हामीले थुप्रै लेखहरु पढेकाछौं । प्रवचन सुनेका छौं । तर डा मारोहाङलेजस्तो गहिरो अनुसन्धानगरी प्राज्ञिक कोणबाट व्याख्या गरिएको पाइएको थिएन ।

​याक्थुङ समुदाय आफ्नै भाषा, लिपि, कला, आर्थिक, सामाजिक, राजनीतिक संस्कृति, सभ्यतादेखि हामी एउटै याक्थुङ मनोविज्ञान भएको एक बिशिष्ठ पहिाचनसहितको राष्ट्र होनै । याक्थुङहरुको मातृभाषा याक्थुङ पान र लामो समयदेखि आफ्नै सिरिजङगा लिपिसहित लेखन परम्परा भएको भाषा हो । इम्बिरी याङधङवा खासाममा पुर्खाहरले निर्माण गरेका हाम्रो सिरिजङगा लिपि पढ्नबाट विगत साढे दुईसय वर्षयता हामी कसरी बञ्चित भएका थियौं वा बनाइयो भनेर लेखककले अनेका ऐतिहासिक दस्तावेज पेश गरेका छन ।

​गोर्खा राज्य बिस्तारसंगै खस-आर्य सत्ताको केन्द्रीकृत नीति, उपनिवेसवादी अंग्रेज औपनिसिक र भारतीय विस्तार।वादले याक्थुङहरुको सिरिजङगा लिपि अध्ययन गर्नबाट बञ्चित बनाइएको पुष्टि गर्न उनले अनेकौं ऐतिहासिक तथ्यहरु राखेका छन । अनेक समस्याका बाबजुद यो लिपि जोगाउनु सिरिजङगा सिंगथेवे, बाजबीर थलङ, लालस्वर सेन्दाङ, इमानसिं चेम्जङ, रनध्वज नेम्बाङ, जोवनसिं फागोलायतको अतुलनीय योगदानको दस्तावेजसहित छन ।

​पाठकलाई पढ्न बुझ्न सहजकालागि लेखकले बिषयअनुसार शीर्षक उपशीर्षकमा खण्डिकरण गर्दै थप जानकारीका लागि प्रशस्त स्रोत सामग्रीहरु छन ।

​अन्तमाः सावा येत्हाङ, थिवोङ–याक्थुङ सुहाङ, खाम्बोङवा लुङबोङवा, फुःनुसा, मिङसो इङसो, डिलिन्कङ, रिलिन्किङ लिन्किङ, नलेड कन्स्ट्रक्शन प्रोग्राम्ड, खसआर्य सेन्ट्रीक लोभलाग्दा शब्दावलीहरु धेरै ठाऊँमा दोहोरिएका छन ।

​यी शब्दावलीहरु दुश्मनरुपी राज्यसत्तासंग लड्ने शक्तिशाली सांस्कृतिक हतियार हुन, जसले हामीलाई आफना पुर्खाहसंग जोड्ने पूलको काम गर्छनै साथै याक्थुङ लाजे र यो माटोबाट बिस्थापितहरुलाई आफ्नो समुदायमा बाध्ने काम र खोसिएको याक्थुङ मिङसो इङसोसंग संवन्धित जमिन, सत्ता र विरासतका लागि लडिरहने ऐतिहासिक, सांस्कृतिक गौरव र पहिचानको भावना जोगाई दिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button