समाचार

सिरिजङ्गा चाेक नामकरण

११ नाेभेम्बर, विजयपुर । धरान उपमहानगरपालिकाले दक्षिण तर्फबाट धरान प्रवेश गर्ने मुख्य नाका तीनकुनेलाई ‘सिरिजङ्गा चाेक’ नामाकरण गरेको छ । उपमेयर आइन्द्र विक्रम वेघाले आज शनिवार बिहान चौकमा आयोजित कार्यक्रमबीच ‘सिरिजंगा चाेक’ लेखिएको डिजिटल साइनबोर्ड अनावरण गरेर विधिवत् नामाकरण गरेका हुन् ।

धरान नगरपालिकामा तत्कालीन मेयर मनोजकुमार मेयाङबोको कार्यकालमा त्यहाँ किरात सिपरजंगा लिपिका प्रवर्द्धक सिरिजंगको पूर्ण कदको शालिक स्थापना भएको थियो । शलिक स्थापना भए पनि चौकको आधिकारिक नामाकरण भएको थिएन ।

किरात याकथुङ चुम्लुङ धरान उपमहानगर समितिले स्थानिय सरकार धरान उपमहानगरपालिकालाई औपचारिक रूपमा चौकको ‘सिरिजंगा चौक’ नामाकरण गर्न आग्रह गरेको थियो । मेयर हर्क साम्पाङको कार्यकालमा आएर उक्त चौकको औपचारिक नामाकरण भएको हो ।

बोर्ड अनावरण कार्यक्रममा उपमेयर बेघाले सिरिजंगाको शालिक स्थापना भएयता यो ठाउँका नाम स्वाभाविक रूपमा सिरिजंगा चौक रहन गएकोमा उपमहानगरपालिकाले औपचारिक रूपमा त्यसलाई मान्यता दिएको बताए ।

वडा १५ का अध्यक्ष नरेश इङवारमले सिरिजंगा चौक नामाकरणलाई उपमहानगरपालिका सैद्धान्तिक रूपमा स्वीकृति दिएको बताउँदै यसलाई उपमहानगरपालिका कार्यपालिका बैठकको एजेन्डाको रूपमा पारित गरेर सरकारी दस्ताबेजहरूमा नामाकरण गराउने प्रतिबद्धता जनाए।

चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेला लिम्बुले नेपाली भाषाको विकासमा योगदान गरेकोमा ‘भानु चौक’ आदिकवि भानुभक्त आचार्यका सम्मानमा नामाकरण गरिएको बताउँदै भने ‘आदिवासीका मातृभाषाको विकासका लागि किरात सिरिजंगा लिपीको प्रवर्द्धनमा योगदान गरेका सिरिजंगाको सम्मानमा ‘सिरिजंगा चौक’ नामाकरण हुनु सबैका लागि खुशीको कुरा हो ।’

अनावरण सभाका सभापति चुम्लुङ धरान उपमहानगर अध्यक्ष तीर्थ मादेम्बाले औपचारिक नामाकरणको मान्यता दिएकोमा धरान उपमहानगरपालिकाप्रति धन्यवाद ज्ञापन गर्दै चौकको नामाकरणले धरानको पर्यटकीय महत्त्व बढाउने विश्वास व्यक्त गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button