समाचार

सहिद रिदामाहाङ र राम्लिहाङ आठपहरियालाई सम्झिए अभिन्यताहरूले

२५ अक्टोबर, धनकुटा । साँस्कृतिक सहिदहरू रिदामाहाङ र राम्लिहाङ आठपहरीयालाई साँस्कृतिक अभियन्ताहरूले यस वर्ष पनि स्मरण गरेका छन । सहादत प्राप्त गरेको १५७ औँ स्मृति दिवसको सन्दर्भमा बेलायत र नेपालका अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गरेका छन् ।

हिन्दूहरूको ठूलो चाडमध्येको एक दसैँ प्रारम्भ भइरहेकै बेला तत्कालीन समयमा साँस्कृतिक विद्रोहका क्रममा प्रतिरोध गर्दा राणा शाषकहरूबाट मारिएका रिदामा र राम्लिहाङको स्मरण गरिएको अभियन्ताहरूले जनाएका छन् ।

सहादत प्राप्त गरेकै दिन भनेर किरात आठपहरिया समाजले धनकुटाकाे चुलीवनमा श्रद्धाञ्जली सभा समेत राखेको थियोे । समाजका धनकुटा अध्यक्ष अष्टबहादुर सुङ्देन आठपहरियाले हालको आठपहरीको चारकिल्ला यथार्थ रहेको भन्दै त्यो किपट रहेको बताए । दशै नमानेकै कारण हत्या गरेको भन्दै रिदामा राम्लिहाङलाई सहिद घोषणा हुनुपर्ने बताए । आठपहरियाको छुट्टै भाषा संस्कार चाड रहेको भन्दै दशैँ नमानेकै कारण हत्या भएकोले आठपहरियाले चाड नमानेको प्रष्ट्याए । उनले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले हालसम्म आठपहरियालाई सूचीकरण नगरेको गुनासो गरे ।


स्मृतिसभामा सहभागीहरू ।
जिल्ला सचिव सन्देश हाेम्बारक आठपहरियाले सञ्चालन गरेको कार्यक्रममा आदिवासी जनजाति महासङ्घ धनकुटा अध्यक्ष सञ्जय सन्ताेषी राई, आठपहरिया समाजका संरक्षक सदस्य दिनेश आठपहरिया, जिल्ला सदस्य सराेज किम्दाङ आठपहरिया, साँस्कृतिक अभियन्ता एवम् लेखक अमित थेवे लगायतले सम्बाेधन गरेका थिए । साे अवसरमा कलाकारहरू शिशिर लिङ्सुवा र विक्षा पाङ्सुङले गीत प्रस्तुत गरेका थिए ।

जानकारीमूलक बाेर्ड प्रतिस्थापन
यसैगरी, साँस्कृतिक सहिदद्वय रिदामाहाङ र राम्लिहाङ आठपहरियाबारे संक्षिप्त्त जानकारी दिने उद्देश्यले चुलीवनमा बार्ड समेत प्रतिस्थापन गरिएको छ । साँस्कृतिक अभियन्ताद्वय अमित थेवे र निमा पाेङ्सुवाले तयार पारेको बाेर्ड थेवेले समाजका अध्यक्ष वीर बहादुर आठपहरियालाई हस्तान्तरण गरेका थिए ।

धनकुटा नगरपालिकाकाे वडा नम्बर ७ र ८ मा फैलिएको चुलीवन पार्कमा करिब सात फिटको शालिक र एक आठपहरिया महिलाकाे प्रतिमूर्ति निर्माण गरिए पनि समुदायबारे जानकारीकाे अभाव परिपूर्ति गर्न बाेर्ड बनाएर सहयोग गरेको अभियन्ता थेवेले जनाए ।

समाजका अध्यक्ष वीर बहादुर आठपहरियाले धन्यवाद दिँदै भविष्यमा अझ व्यवस्थित र दीगो हुने किसिमकाे संरचना निर्माण गरेर सहिदद्वय र समुदायको जानकारी दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसैबीच, मङ्गाेल नेशनल अर्गनाइजेसन, छ घटक दल(राष्ट्रिय जनमुक्ति पार्टी), लिम्बु विद्यार्थी मञ्च, पहिचानका लागि युवा, किरात धर्म तथा साहित्य उत्थान सङ्घ लगायतका सङ्गठनहरूले समेत सभा आयोजना गरेका थिए । कार्यक्रममा एमएनओे डीजीजीका सुनसरी अध्यक्ष साहारा राई, पहिचानका लागि युवा सुनसरीका शिवाहाङ राई, लिवि मञ्च महासचिव प्रदीप नेयाेङ लगायतले बोलेका थिए ।

बेलायतमा पनि अन्तरक्रिया
यसैबीच, सहिद रिदामाहाङ र राम्लिहाङ आठपहरियालाई बेलायतमा पनि अभियन्ताहरूले सम्झेका छन् । सन् २०१९ बाट सहिदकाे नाममा स्मृति सभा गर्दै आएका अभियन्ताहरूमध्येका एक विश्वासदीप तिगेलाले सहिदकाे फाेटाेमा माल्यार्पण गरेको बताए ।

धनकुटाको चाम्जिबुङका आठपहरीयाद्वय सहिद भएको १५७ र्औँ स्मृति दिवसको अवसर पारेर मङ्गलबार बेलायतमा स्मृति सभा राखिएको उनले जनाए । ‘हिन्दू शाषकहरूले तत्कालीन समयमा पूर्वी लिम्बुवान क्षेत्रका रिदामा र राम्लिहाङलाई दसैँ नमानेको निहुँमा निर्ममतापूर्वक हत्या गरेका थिए,’ किरात याक्थुङ चुम्लङ यूकेका पूर्व सचिव तिगेलाले भने, ‘गैरहिन्दू आदिवासी मूलवासीमाथि थोपरिएको साँस्कृतिक अत्याचारलाई प्रतिरोध गर्दा उनीहरूको हत्या भयो । यसकारण उनीहरूको बलिदान सम्झन एक ठाउँ आएका हौँ ।’ साहित्यकार एवम राजनीतिज्ञ समेत रहेका तिगेलाले नेपाल बहुजातीय, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक भए पनि एकल साँस्कृतिक नीतिका कारण अझै पनि अल्पसंख्यकहरू अन्यायमा परेको बताए ।

त्यसैगरी, नै धनकुटामा रहेको चुलिवनमा सहिदहरूकाे प्रतिमामा माल्यार्पण कार्यक्रम समेत गरिने आदिवासी अधिकारकर्मी एवम पत्रकार निमा पाेङ्सुवाले बताए । उनले बुधबार बिहानै आदिवासी आठपहरीया महिलाहरूकाे विशेष सक्रियतामा सहिदहरूकाे स्मरण र प्रतिमामा माल्यार्पण गरिने जनाए । नेपालमा पनि विगत तीन वर्षदेखि सहिद रिदामा र राम्लिहाङकाे स्मरण गरिँदै आइएकाे छ ।

मङ्गलबार र बुधबार नेपाली समाचार डट कमकाे आयाेजनामा दसैँकाे विकल्पबारे भर्चुअल अन्तरक्रिया समेत राखिएको छ । अन्तरक्रियामा किरात याक्थुङ चुम्लुङ नेपाल अध्यक्ष प्रेम येक्तेन, कियाचु यूके अध्यक्ष नरवीर आङ्वाे, एनआरएनए यूके उपाध्यक्ष भरतमणि चाेङवाङ, लिम्बुवान नागरिक समाज यूके अध्यक्ष छत्र वनेम, महासचिव लाहाङ चेम्जाेङ, अभियन्ता जहरमान थुप्पाेकाे थेवे लगायतको सहभागिता रहेको थियोे ।

उत्तर, चित्रे टुटेको डुङडुङे दक्षिण, लम्बु खोला पश्चिम, माङ्गाया खोलापूर्वको चार किल्लाभित्र यी जातिले आठ किल्ला निर्माण गरी आठै प्रहर पहरा दिने गरेका कारण समुदायलाई आठपहरीया या अठप्रे भनिएको जनश्रुति चर्चित छ ।

पत्रकार एवम इतिहासका अध्येता राजकुमार दिक्पालका अनुसार वि।सं। १९३३ मा दसैँ नमान्दा रिदामा र राम्लिहाङ आठपहरीयालाई तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको आदेशमा धनकुटामा झुण्ड्याएर मृत्युदण्ड दीएको लेखेका छन । उनले लेखेको एक लेखमा १८३९ को साउनमा रण बहादुर शाहले खजुम राय, श्रीदेउ राय, आतहाङ राय र रैनसिंह रायलाई लालमोहर तथा रक्का जारी गर्दै नगरा निशान दिएको उल्लेख गरेका छन । ‘यस्तै, १८४० जेठमा रुक्का जारी गर्दै रणबहादुरले शत्रुसँग लड्न भनी लिम्बु शाषकहरू रैनसिंह राय, श्रीदेउ राय र आतहाङ रायलाई काठमाडौँ झिकाएर शान्ति स्थापना गर्न भन्दै हातहतियारसहित नगरा निशान दिए,’ दिक्पाल लेख्छन्, ‘१८४० मा लिम्बुवानमा श्रीजङ्ग पल्टन स्थापना भएको देखिन्छ । नगरा निशान लिएपछि दुर्गा पूजा र दसैँ मान्नुपर्ने अनिवार्यता थोपरियो । नित्य पूजा र दसैँमा पञ्चवली पूजाका लागि २२ मुरीको गुठी राखेको र दसैँमा पञ्चवली दिनु भन्ने आदेश रुक्कामार्फत दीएको छ ।’

– अमित थेवे

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button