स्थानीय

बैतडीमा बालविवाह घटेन, तीन वर्षमा एघार सय किशोरी आमा बने

बैतडी, २८ भदौ : बैतडीमा अझै पनि बालविवाह हुने क्रम रोकिएको छैन । उमेर नपुग्दै बिहे गर्ने किशोरी २० वर्षमुनि नै आमा बन्ने गरेका छन् । जिल्लामा गएको तीन वर्षको अवधिमा एक हजार एक सय २५ जना किशोरी २० वर्षमुनि नै आमा बनेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा चार सय १५, आवमा २०७८/७९ मा तीन सय ८७ र गत आवमा तीन सय २३ किशोरीले जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भ जाँच गराएको पाइएको कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिनुभयो । उहाँका अनुसार यो तथ्याङ्क हेर्दा पनि यहाँ बालविवाह हुने क्रम नरोकिएको प्रष्ट हुन्छ ।

गर्भ जाँच गराउन आउँदा किशोरीको उमेर २० वर्ष कम भए पनि २० वर्ष पुगेको बताउने गरेकाले तथ्याङ्कमा कम देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । उमेर नपुग्दै बिहे गर्ने र २० वर्षमुनि आमा बन्दा ज्यान नै जोखिममा पर्ने सम्भावना बढी हुने स्वास्थ्यकर्मीको भनाइ थियो ।

स्थानीय तह तथा विभिन्न सरकारी गैरसरकारी सङ्घसस्थाले प्रत्येक वर्ष जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि बालविवाह हुने क्रम नरोकिएको श्रीकोट स्वास्थ्यचौकीकी अनमी सरस्वती भट्टले बताउनुभयो ।

बीस वर्ष नपुग्दै गरेको विवाहलाई कानुनी मान्यता नपाउने भन्दै उहाँले पछिल्लो समय घरपरिवारको दबाबमा गरिने विवाहमा केही कमी आए पनि भागी विवाहले बाल न्यूनीकरणमा चुनौती थपिएको बताउनुभयो । “कम उमेरमा गरिएको विवाहले कानुनी मान्यता पाउँदैन भने स्वास्थ्यका हिसाबमा पनि जोखिम हुने गरेको छ । किशोरावस्थामा सही निर्णय लिन नसक्दा बालविवाहमा कमी नआएको हो”, अनमी भट्टले भन्नुभयो ।

नेपालले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने नीति लिएको जनाउँदै उहाँले सोही नीतिअनुसार कार्यक्रम बनाएर कार्यान्वयन गरिरहेको जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारको नीतिअनुसार जिल्लामा अझै पनि बालविवाह न्यूनीकरण हुनसकेको छैन ।

शारीरिक र मानसिकरूपमा २० वर्षमाथि मात्रै परिपक्व हुने भन्दै प्रमुख भट्टले त्यो भन्दा मुनि बच्चा जन्माउनु आमा र बच्चा दुवैका लागि खतरा हुने बताउनुभयो । उहाँका अनुसार कम उमेरमा बच्चा जन्मिदा कुपोषित हुने, कम तौलको जन्मिने, रक्तअल्पतालगायतका जोखिम निम्तिने गर्दछन् ।

“बीस वर्ष नपुग्दासम्म प्रजनन अङ्ग परिपक्व भइसकेका हुँदैनन् । यो उमेर आमा बन्नु बच्चा र आमा दुवैका लागि जोखिम हुन्छ । बच्चा जन्मिहाले पनि कम तौलको हुने, कुपोषित हुनेलगायतका समस्या देखिन्छन्”, प्रमुख भट्टले भन्नुभयो । विभिन्न सङ्घसंस्था तथा स्थानीय जनप्रतिनिधिको सक्रियतामा कम उमेरमा हुने विवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम प्रत्येक वर्ष सञ्चालन गरिने भए पनि प्रभावकारिता कम देखिएको उहाँको भनाइ थियो ।

नेपालको कानुनले २० वर्षमुनि गरेको विवाहलाई स्वतः बदर हुने व्यवस्था गरेको छ भने तीन वर्ष कैद र रू ३० हजार जरिवाना तोकिएको छ ।

बालविवाहको उन्मूलन गर्न विशेषगरी छोरीहरूको सशक्तीकरण गर्नुपर्ने र बालविवाह पुराना परम्परागत संस्कृति र जातीय व्यवस्थासँग जोडिएको विषय भएकाले कुसंस्कार र जातीय व्यवस्थालाई बदल्नुपर्ने दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह न्यूनीकरणका लागि छोरीहरूको सशक्तीकरण र पुराना कुसंस्कार बदल्न आवश्यक छ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button