स्थानीय

बेनीमा गोरु नाच प्रदर्शन

बेनी (म्याग्दी), २९ भदौ : म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रदर्शन गरिएको छ । आज बजारमा हुने रोपाइँ नाचको जानकारी गराउन मुखियाले गोरुसहित बिहीबार बजार परिक्रमा गरेका हुन् ।

नेपाल भाषा मंकाखलः अन्तर्गत रहेका युवाको समूह ल्याम्हः पूचःले बर्खेनाचअन्तर्गतको गोरु नाच प्रदर्शन गरेका हुन् । बर्खेनाचअन्तर्गत आज हुने रोपाइँ नाचमा सहभागी हुनका लागि गोरुसहित मुखिया बजार परिक्रमा गर्छन् । मुखियाले क्याप्टेनको खेत रोपाइँमा सहभागी हुन रोपाहारलाई आग्रह गर्ने चलन छ ।

रोपाइँ नाचमा खेत रोपाइँ गर्न गोरु, बाउसे र हली तयारी अवस्थामा रहेको र रोपाहारलाई सहभागी हुनका लागि मुखियाले बजार परिक्रमा गरेर जानकारी गराउने चलन रहेको ल्याम्हः पूचःका सदस्य सज्जन श्रेष्ठले बताउनुभयो । गोरुसहित मुखिया बजारको चोक–चोकबाट टोलवासीलाई रोपाइँमा सहभागी हुन सूचना गर्छन् भने सहभागी नहुनेलाई जरिवाना गर्ने आदेश हुन्छ ।

हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर हरितालिका तीज पर्वसम्म देखाइने बर्खेनाचअन्तर्गत बेनी बजारमा लाखेनाच, घोडानाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरुनाच देखाइएको छ भने रोपाइँ नाच र धानको बाला नाच देखाउने तयारी गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button