समाचार

ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार

काठमाडौँ, २९ चैतः जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताउनुभएको छ ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले आज यहाँ आयोजना गरेको ‘लागूऔषध दुर्व्यसनी तथा साइबर अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया’मा उहाँले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताउनुभएको हो ।

“ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी उक्त बजारलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्नेछ”, उहाँले भन्नुभयो ।

परिसर प्रमुख खत्रीले पछिल्लो समय राजधानी काठमाडौँसहित देशभर लागूऔषध दुव्यर्सनी र साइबर अपराधको घटना बढेको भन्दै यसलाई नियन्त्रणका लागि काठमाडौँ प्रहरीले काम गरिरहेको उल्लेख गर्नुभयो ।

चालू आर्थिक वर्षमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने तीन हजार सात सय मुद्दा दर्ता काठमाडौँ प्रहरीमा दर्ता भएको उहाँको भनाइ छ । यस्तै, लागूऔषध दुव्यर्सनीसम्बन्धी देशभर चार हजारभन्दा बढी मुद्दा दर्ता भएको एसएसपी खत्रीले बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं ४ का वडाअध्यक्ष दिनेश महर्जनले विस २०८१ सालमा वडाभित्रका बिग्रेका सबै सडकहरु कालोपत्र गरिसक्ने बताउनुभयो । उहाँले लागूऔषध दुव्र्यसन र साइबर अपराधमा सजग रहन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवीलगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताउनुभयो ।

उहाँले समाजमा हुने लागूऔषध दुर्व्यसनी, साइबर अपराधलगायतको नियन्त्रणमा सामुदायिक सेवा केन्द्रले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको उल्लेख गर्नुभयो ।
प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) अम्बरबहादुर थापा क्षेत्रीले पछिल्लो समय युवा पुस्ता लागूऔषध दुर्व्यसनी र साइबर अपराधमा फसेको भन्दै यसलाई न्यूनीकरणका लागि प्रहरीले समाजसँगको सहकार्यमा विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

नेपाल सरकारका पूर्वसचिव श्यामप्रसाद मैनाली, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अमरसिंह शाह, न्यूटन उच्च माविका प्राचार्य रामबहादुर थापालगायतले भोलिका दिनमा देश विकासको जिम्मा अहिलेका विद्यार्थीको भएकाले लागूऔषध दुर्व्यसनी र साइबर अपराधसँग टाढा रहन आग्रह गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button