आदिवासी

आदिवासी मुसहरमा धन सञ्चय गर्ने मोह जाग्दै

महोत्तरी, २४ वैशाखः ‘न राख्ने अन्न, न सञ्चय गर्ने धन’ मधेशका आदिवासी मुसहरसँग जोडेर भन्ने गरिएको आहान हो यो । त्यसैगरी मुसहरको सम्पत्तिसँग जोडेर ‘पेरवा धन, मुसहर जन’ भन्ने पनि गरिन्छ । यसको अर्थ मुसहर समुदायमा घरमा रहेका सदस्य र काम गर्ने हातपाखुराबाहेक सञ्चय गर्न अरू सम्पत्ति नहुने गरेको भन्ने गरिन्थ्यो । अहिले भने त्यो मान्यता र भनाइलाई चिर्दै महोत्तरीको बर्दिबास नगर क्षेत्रका मुसहरहरूमा अवसरको खोजी र धन सञ्चय गर्ने बानीको विकास हुन थालेको छ ।

आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक अवसरबाट टाढा रहेका मुसहरमा पछिल्लो समय बढ्दैगएको चेतनाका कारण क्रमशः आर्थिक गतिविधिमा सरिक हुने र भविष्यका लागि जोहो गर्ने मोह जाग्दै गएको छ । यस कार्यमा बर्दिबास नगरपालिकाले सञ्चालन गरेको तीन वर्षे लघु जीवन बीमा कार्यक्रम निकै सहयोगी भएको छ ।

मुसहर आमरूपमा आज खाने तर भरे, भोलिको चिन्ता गरेर सञ्चय नगर्ने समुदाय भनेर चिनिँदैआएका छन् । एकाबिहानै गिरहत (काम दिने व्यक्ति) कहाँ काम गर्ने र त्यसबापत पाएको बनी (पारिश्रमिक) को आधा रकमले चामल र आधाले मरमसला किन्ने, दिउँसो घोङी र माछा मार्नजाने, साँझ परिवारका सबै सदस्य एकसाथ बसेर खाने मुसहरको आम चलन नै हो । काममा सबैसँगै, खान पनि सबैसँगै भन्ने नीति यो समुदायको विशिष्ट परम्परा हो ।

महोत्तरीको एकडारा गाउँपालिकास्थित भटौलिया बस्तीका सामाजिक अगुवा विजय कर्ण मधेशका अन्य जाति समुदायमा नदेखिने यो चलन मुसहरको विशिष्ट संस्कृतिका रूपमा रहेको बताउनुहुन्छ । “कृषिकार्यमा पोख्त मानिने मुसहर एकाबिहानै काम गरेर पाएको बनीले त्यो दिनको गर्जो टर्ने भएपछि दिउँसो कसैकहाँ कामगर्न जान मन गर्दैनन् । ‘कमाइ ल्यायो, भुटी खायो’ आहान पनि प्रयोग हुने यो समुदायलाई यसै कारण ‘न राख्ने अन्न, न सञ्चय गर्ने धन’ भन्ने कहावत (आहान) सँग जोडिन्छ”, कर्णले भन्नुभयो । सामान्यतया घरआँगनको खोपमा पालिने परेवा भोलिपल्टै अर्कैको खोपमा पुग्छ, त्यसैले यो धनस्थिर मानिदैन भनेझैँ मुसहरले पनि भोली कहाँ र के काम गर्ने भन्ने टुङ्गो हुँदैन । यसैले यो समुदायसँग जोडेर मधेशमा ‘पेरवा धन, मुसहर जन’ भन्ने गरिएको कर्णको भनाइ छ ।

नगरप्रमुख प्रहलादकुमार क्षत्रीले पुस्तौदेखि यस्तै गर्दैआइरहेका मुसहर समुदायको बानीव्यहोरा बदल्न र सञ्चय गर्ने संस्कार बसाल्न अहिले नगरपालिकाले सामूहिक बीमा कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । सञ्चिति अभियानका लागि हाल वडा नम्बर १०, १२ र १४ का गरी २३५ परिवारका ३५३ जनालाई ‘सामूहिक म्यादी जीवन बीमा’ कार्यक्रममा आबद्ध गराएको उहाँले जानकारी दिनुभयो । जीवन बीमामा जोडिएका मुसहरमा अब क्रमशः कमाएको रकम सञ्चय गर्ने बानी विकास हुँदै गएको क्षत्रीको भनाइ छ । “चरम गरिबी, अशिक्षा र सामाजिक चेतनाको कमीले कष्टकर जीवन बिताइरहेका मुसहर समुदायलाई क्रमशः अर्थोपार्जनका लागि अवसरमा जोड्दै सञ्चय अभियान सुरूगरेका छौँ । यसको प्रारम्भ भने बीमाबाट गरेका छौँ”, नगरप्रमुख क्षत्रीले भन्नुभयो,“यसकार्यले उहाँहरूमा अर्थोपार्जनका अवसरमा रूची बढाउँदै नानीबाबुहरूलाई विद्यालय पठाउन र कमाएको केही अंश बचत गर्ने बानी बस्दैछ ।”

केही कागजात अपूगभएका बाहेक १८ वर्षदेखि ६९ वर्षसम्मका नगर क्षेत्रका सबै मुसहर यस कार्यक्रममा समेटिएका छन् । नगरपालिकाले नै बीमा रकम एकमुष्ट जम्मा गरिदिएर यो कार्यक्रम सुरूगरेको हो । हाल बर्दिबास–१० खयरमाराका २५ परिवारका ४३ जना, वडा नम्बर १२ विजलपुराका एक सय ५० परिवारका दुई सय दुई र बर्दिबास–१४ नमुना मुसहर बस्तीका ६० परिवारका एक सय आठ जना यो अभियानमा जोडिएका नगरपालिकाले जनाएको छ । नगरपालिका र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड बर्दिबास शाखाका प्रतिनिधिले टोलबस्तीमै पुगेर उहाँहरूलाई बीमामा जोड्नुभएको हो ।

मधेशका सीमान्तकृत जातिमा पर्ने मुसहरको भविष्य सुरक्षित गर्न, आफ्ना हितका विषयमा सजग गराउन र राज्यबाट प्रदानगरिने अवसरमा जोड्न प्रारम्भिकरूपमा बीमा कार्यक्रममा जोडिएको नगरप्रमुख क्षत्रीले बताउनुभयो । कठोर मेहनत गर्ने मुसहर अब भवितब्यमा परे वा गम्भीर बिरामी भए बीमाले निश्चित दायित्व पूरागर्ने बन्दोबस्त भएकाले सो समुदायका व्यक्तिहरू अहिले उत्साहित भएका छन् । तीन वर्षे अवधिको यो बीमामा क्रमशः उमेर पुग्दैगएका मुसहरलाई आबद्ध गराउँदै जाने नगरपालिकाको योजना छ ।

यसका साथै नगरपालिकाले मुसहर समुदायमा उमेरनपुग्दै विवाह गर्ने प्रचलनलाई निरूत्साहन गर्न नगद प्रोत्साहन रकम प्रदान गर्ने नीति लिएको छ । सानै उमेरमा विवाह गर्ने र सरकारले विवाहका लागि तोेकेको उमेर (२० वर्ष) सम्म दुई÷तीन सन्तान जन्माइसक्ने मुसहर महिलामा यसैकारण गम्भीर स्वास्थ्य समस्या देखिएपछि यस्तो अभियान सञ्चालन गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

उमेर पुगेरमात्रै बिहे गर्न उत्प्रेरित गर्ने उद्देश्यसाथ नगरपालिकाले २० वर्ष पूरा भएपछि बिहे गर्ने नगरक्षेत्रका मुसहर दम्पतिलाई रु ५० हजार प्रोत्साहन दिइने घोषणा गरिसकेको छ । अहिलेसम्म यो मापदण्डअनुसार विवाह गर्ने बर्दिबास–१४ का मञ्जय सादामात्र हुनुहुन्छ । मञ्जय स्नातक तह उतिर्ण गर्ने बर्दिबासकै पहिलो मुसहर पनि हुनुहुन्छ । उहाँले यही वैशाख ६ गते आपूmजस्तै उमेर पुगेकी मुसहर महिला युवासँग विवाह गरेपछि नगरपालिकाले घोषणा गरेअनुसारको प्रोत्साहन रकम पाएको बताउनुभयो ।

महोत्तरी जिल्लाका सबै (१५ वटै) स्थानीयतहमा धेरथोर बसोबास रहेका मुसहर समुदायको जनसङ्ख्या विसं २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार २७ हजार तीन सय ५२ छ । यो जिल्लाको कूल जनसङ्ख्याको तीन दशमलव ८७ प्रतिशत हो । यति जनसङ्ख्या भएका मुसहरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरा गर्नेहरू औँलामा गन्ने सकिने अवस्थामा छन् ।

जलेश्वर–४ निवासी शिक्षाविद् कृष्णचन्द्र झा मुसहर समुदायको आर्थिक, शैक्षिक र स्वास्थ्य अवस्था सुधारगरी विकासको मूलप्रवाहमा जोड्न आवश्यक रहेको बताउनुहुन्छ । बर्दिबास नगरपालिकाले थालेको अभियानजस्तै जिल्लाका अन्य स्थानीय तहले पनि मुसहर लक्षित कार्यक्रम सञ्चालन गर्नसके चाँडै सकारात्मक नतिजा आउने उहाँको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button