स्थानीय

बझाङ केन्द्रविन्दुको भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, १६ असोज : बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताउनुभयो । पाण्डेका अनुसार भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ र घाइतेको अवस्था समान्य रहेको छ ।

उहाँले भन्नुभयो, “बझाङ सदरमुकाम र आसपासमा केही घर चर्किएको र अन्य कतिपय घर भत्किएको जानकारी आएको छ, विस्तृत विवरण आउन बाँकी छ ।” सदरमुकाम चैनपुरमा मोबाइल ग्यालरीको पसल सञ्चालनमा रहेको एकघर, निर्वाचन कार्यालयको भवनसहित कतिपय सरकारी तथा व्यक्तिगत घर चर्किएका छन् । बझाङ मष्टा गाउँपालिका १ नम्बर वडा कार्यालय भवन भत्किएको छ ।

भूकम्पको झड्का महसुस भएपछि बझाङ जिल्ला अस्पताल भवनको बाहिर राखेर बिरामीलाई उपचार सेवा दिइएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बैतडीमा विद्यालयबाट घरतर्फ गइरहेका एक व्यक्तिमाथि ढुङ्गा खसेको र वन क्षेत्रमा घाँस काटिरहेको अवस्थामा गएको पहिरोका कारण अर्का एक व्यक्ति घाइते भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घाइतेको अवस्था समान्य छ, मानवीय थप क्षति भएको जानकारी आइसकेको छैन ।”

प्रहरी नायब महानिरीक्षक बोहराले अछामको एक वडा कार्यालयको भवन भत्किएको जानकारी आएको बताउनुभयो । डोटीमा पनि केही घर चर्किएका छन् । दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । त्यसपछि पनि पटकपटक परकम्प गएको छ । धनगढीमा पनि भूकम्पको धक्का महसुस भएपछि घर तथा कार्यालयभित्र बसेका धेरै मानिस घर बाहिर निक्किएका थिए ।

धनगढी उपमहानगरपालिकाको स्थानीय आपत्कालीन सञ्चालन केन्द्रले सूचना सार्वजनिक गर्दै भूकम्पको थप परकम्प आउनसक्ने भएकाले नागरिकलाई सुरक्षित रहन सचेत गराएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रले चैनपुर केन्द्रविन्दु भएर छ दशमलव तीन र तलकोट केन्द्रविन्दु भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button