समाचार

संघमा साझा राज्य र प्रदेशमा स्वायत्त राज्य भए मात्र संघीयता सफल हुन्छः कावा अध्यक्ष श्रेष्ठ

राजविराज । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा संघीयताको सफल कार्यान्वयनका लागि संघमा साझा राज्य र प्रदेशमा स्वायत्त राज्य हुने संघवादको आधारभूत सिद्धान्त लागू गनुपर्ने बताएको छ । उनले उक्त कुरा जसपा सप्तरी जिल्लाद्वारा दशैँ, तिहार र छठको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा सङ्गठन विस्तार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बताएको हो ।

श्रेष्ठले वर्तमान संघीय ढाँचा संघीयतालाई ‘अनिच्छुक गर्भाधान’ ठान्ने ओली प्रवृत्तिका व्यक्तिहरूले कोरेको हुँदा संघवादको मूल्य र मान्यताअनुरूप नबनाई तीन तहको नाममा बोझिलो संघीयताको ढाँचा बनाएर त्यसलाई असफल पार्ने षडयन्त्र गरेको बताए । ओलीको तत्कालिन अभिव्यक्ति स्मरण गर्दै उनले जानाजानी ‘बोकाको टाउकोमा भैंसीको सिङ’ जोडेर संघीयतालाई बदनाम गर्न स्थानीय तहमा महंगो संरचना निर्माण गर्न भूमिका खेलेको बताउँदै संघीयता र परिवर्तन विरोधीहरुले चौतर्फी रुपमा जसपालाई घेरावन्दी गरेको आरोप लगाए ।

संघीयताविद्को रूपमा समेत चिनिएका श्रेष्ठले संसारमा अमेरिका, भारत, अष्ट्रेलियामा भन्दा नेपालमा धेरै सरकार बनाएर यसलाई एमाले, कांग्रेसको बर्चश्व रहेको संविधान सभाले खर्चिलो बनाएको आरोप लगाए । उनले अहिले प्रदेश संरचना खारेज गर्नु पर्छ भनेर अभियान चलाउनेहरूले सो संरचना खारेज हुँदा समेत ७६१ मध्ये ७५४ वटा सरकार बाँकी हुने र त्यो बोझिलो नै हुने बताए । उनले नेपालमा पनि रुस, जर्मन, स्विटजरल्यान्ड आदि देशमा जस्तै स्थानीय टोल वस्तीको सामुदायिक संरचनामा आधारित विकासको एकाईको रूपमा स्थानीय तह बनाई संघ र प्रदेश दुइ तहको मात्र संघीयता हुनुपर्ने बताउँदै त्यसो हुँदा संघीयता एकात्मक राज्यभन्दा धेरै मितब्ययी हुने बताए ।

श्रेष्ठले संघीयताको कार्यान्वयन राज्ययन्त्रमा मात्र होइन, पार्टीमा पनि हुनु पर्छ भन्दै संघीय ढाँचाको पार्टीमा एकात्मक ढाँचाको पार्टीमा जस्तो सबै शक्ति केन्द्रमा मात्र रहनु हुन्न भनेर नै पार्टीले लोकतान्त्रिक अकेन्द्रिकरणको संगठनात्मक सिद्धान्त अपनाएको बताए । उनले लोकतान्त्रिक अकेन्द्रिकरणको सिद्धान्त भनेको अधिकारको विकेन्द्रिकरण, प्रत्यायोजन वा निक्षेपन मात्र नभएको बताउँदै यो पार्टी शक्ति केन्द्र र प्रदेशहरूमा विधानसम्मत बाँडफाँट हो, सबै शक्ति एउटै केन्द्रमा नरहनु हो भने । उनले लोकतान्त्रिक अकेन्द्रिकरणको संगठनात्मक सिद्धान्तले पार्टीको प्रदेश संरचना तथा स्थानीय तहहरूलाई आफ्नो क्षेत्राधिकारभित्रका काममा आफै निर्णय गर्न सक्ने व्यवस्था गरेको बताए ।

भ्रष्टाचारको कुनै धर्म, लिंग, जात र पार्टी नहुने भएकोले संलग्नता पुष्टि भए कारबाही हुने

पार्टीका वैचारिक नेता श्रेष्ठले पार्टीको मार्गदर्शक सिद्धान्त संघीय समाजवादबारे प्रशिक्षणात्मक मन्तव्य दिंदै संघीय समाजवाद पुँजीवादीहरूले भन्ने गरेको राजनीतिक लोकतन्त्र वा त्यसको विकल्पमा उन्नाइसौँ शताब्दीमा समाजवादी र साम्यवादीहरूले भन्ने गरेको सामाजिक लोकतन्त्र मात्र होइन यो समग्र रूपमा राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक लोकतन्त्र भएको बताए । उनले भ्रष्टाचारको कुनै धर्म, लिंग, जात र पार्टी नहुने भएकोले संलग्नता पुष्टि भए जो कसैलाई पनि कारबाही गर्नुपर्नेमा जोड दिए ।

हाल सञ्चालित तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको दुई मुख्य उद्देश्य पार्टीलाई वैचारिक र राजनीतिक रूपले सक्षम बनाउनु तथा पार्टीका प्रदेश समिति, राष्ट्रिय समिति र स्थानीय तहहरूलाई विधानले तोकेबमोजीमको पदाधिकारी र संख्यामा सीमित गरी गठन पुनर्गठन गर्नु रहेको उनले बताए ।
पार्टीको सप्तरी जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश इन्चार्ज मृगेन्द्र कुमार सिं यादवले संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई टोल टोलसम्म पुर्याउनुपर्ने बताए भने कार्यकारिणी सदस्य द्वय मनिष सुमन तथा नवल किशोर साहले वर्तमान चुनौतिलाई सामना गर्न जिल्लाले कार्ययोजना बनाई काम गर्नुपर्ने भन्दै अभियान सफलताको शुभकामना व्यक्त गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button