अन्तर्राष्ट्रिय

नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप

म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेसी ९एलडिसी०ले लगाएको छ ।

“हामी विशेष चिन्तित छौं किनकी उहाँले पर्याप्त चिकित्सा सेवा प्राप्त गर्नुभएको छैन । सैनिक सरकारले उहाँको जीवनलाई जोखिममा पार्ने उद्देश्यले स्वस्थ खाना वा आवास पर्याप्त रूपमा उपलब्ध छैनन् । यदि उहाँलाई तलमाथि भएका त्यसको जिम्मेवार सैनिक सरकार हुनेछ,” एलडिसील्े एक विज्ञप्ति निकालेर भनेको छ ।

हालैका दिनहरूमा स्थानीय सञ्चारमाध्यमले ७८ वर्षीय नोबेल पुरस्कार विजेता नेत्री दाँतको सङ्क्रमणको कारण बेहोस हुने, बान्ता गर्नेलगायत समस्याबाट पीडित हुनुभएको र खाना खान असमर्थ रहेको जनाएका छन् ।

सन् २०२१ को फेब्रुवरीमा सैन्य विद्रोहपछि सत्ताच्युत गरिएकी नेत्री सुचीलाई सोही समयदेखि हिरासतमा राखिएको छ । सैनिक शासनको विरोधसँगै म्यान्मा गृहयुद्धमा प्रवेश गरेपछि हजारौँले ज्यान गुमाएका छन् । म्यान्मामा हिंसाका घटना निरन्तर बढिरहेका छन् । गत जुलाईमा उहाँलाई राजधानी नेपीट जेलबाट नजरबन्दमा सारिएको थियो तर उहाँलाई कहाँ राखिएको छ भन्ने स्पष्ट छैन ।

यसअघि उहाँका कान्छा छोराले पनि सैनिक हिरासतमा रहनुभएकी आफ्नी आमालाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप लगाउनुभएको थियो । दाँत र गिजाको गम्भीर समस्याका कारण आफ्नी आमा केही दिनदेखि अस्वस्थ भइ खाननसक्ने अवस्थामा पुग्नुभएको उहाँका छोरा किम एरिसले बताउनुभएको थियो । नेत्री सुची न्यून रक्तचापबाट पनि पीडित हुनुहुन्छ । उहाँले आफ्नी बिरामी आमालाई स्वास्थ्य सेवा उपलव्ध गराउन सैन्य सरकारसमक्ष कारागारका अधिकारीहरूले गरेको अनुरोधलाई सैनिक नेतृत्वले अस्वीकार गरेको बताउनुभएको थियो ।

म्यान्माका सबै राजनीतिक दलहरूको गठबन्धन निर्वासित राष्ट्रिय एकता सरकारले अन्तरराष्ट्रिय समुदायलाई नेत्री सुची जस्ता राजनीतिक बन्दीहरूलाई उचित उपचार सेवा उपलब्ध गराउन सैनिक शासकलाई दबाब दिन आग्रह गरेको छ । विश्वका धेरै नेताले पनि उहाँको निःशर्त रिहाइको माग गरेका छन् । साथै उनीहरूले पक्राउ गरिएका विपक्षीलगायत सबैलाई हिरासतमुक्त गर्न आह्वान गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button