अन्तर्राष्ट्रिय

अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

वासिङ्टन, १४ मङ्सिर (रासस/एएफपी): अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा बुधबार निधन भएको उहाँको परामर्श संस्थाले बताएको छ । दोस्रो विश्वयुद्धपछि अमेरिकी शक्तिमार्फत विश्वलाई आकार दिन सहयोग गर्ने उहाँ महत्त्वाकांक्षी कूटनीतिज्ञ हुनुहुन्थ्यो ।

आधुनिक समयमा सम्भवतः सबैभन्दा धेरै चिनिने अमेरिकाका पूर्वविदेशमन्त्री किसिन्जरको कनेक्टिकटस्थित उहाँको घरमा निधन भएको किसिन्जर एसोसिएट्सले एक विज्ञप्तिमा बताएको छ ।

किसिन्जरको परिवारले निजीस्तरमा अन्त्येष्टि गर्ने र पछि न्युयोर्कमा स्मृति सभा आयोजना गरिने एसोसिएट्सले बताएको छ । आफ्नो यहुदी परिवार नाजी जर्मनीबाट भागेपछि न्युयोर्कमा किसिन्जर हुर्किनुभएको थियो ।

विज्ञप्तिमा उहाँको निधनको कारण उल्लेख गरिएको छैन । उहाँ एक सय वर्षमा पनि सक्रिय हुनुहुन्थ्यो र जुलाईमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्न चीन जानुभएको थियो । चीन किसिन्जरका लागि सबैभन्दा दिगो विरासतमध्ये एक थियो ।

सोभियत सङ्घविरुद्ध शीत युद्धको लडाइँलाई धक्का दिने अपेक्षामा किसिन्जर गोप्यरूपमा बेइजिङ पुग्नुभएको थियो । परिणामस्वरूप राष्ट्रपति रिचर्ड निक्सनले सन् १९७२ मा चीनको ऐतिहासिक भ्रमण गर्नुभयो र पछि तत्कालीन विश्वबाट पृथक बनेको मुलुक चीनसँग अमेरिकाले सम्बन्ध स्थापना गर्यो । अमेरिकासँगको सम्बन्धकै कारण चीनले तीव्र विकास हासिल गर्यो र वासिङ्टनसँगको बढ्दो प्रतिस्पर्धीका रूपमा विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र बन्यो ।

किसिन्जरलाई विश्वका अधिकांश स्थानमा तिरस्कृत गरिए पनि वासिङ्टनस्थित चिनियाँ राजदूत झी फेङले उहाँलाई ‘सबैभन्दा मूल्यवान पुरानो मित्र’ भन्दै उहाँको निधनले ‘हाम्रा दुवै मुलुक र विश्वका लागि ठूलो क्षति’ पुगेको बताउनुभएको छ ।

अमेरिकामा किसिन्जरलाई राजनीतिक मूलधारमा पनि सम्मान प्राप्त भयो । प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका सदस्य एवं हालका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले न्युयोर्कमा उहाँको एक सयौँ जन्मदिनको पार्टीमा भाग लिनुभएको थियो ।

“हेनरी किसिन्जरको निधनसँगै अमेरिकाले विदेश मामिलामा सबैभन्दा भरपर्दो र विशिष्ट आवाज गुमाएको छ”, पूर्वराष्ट्रपति एवं रिपब्लिकन जर्ज डब्लु बुसले एक विज्ञप्तिमा भन्नुभएको छ ।

किसिन्जरलाई भियतनाम युद्ध अन्त्य गर्न वार्ताका लागि नोबेल शान्ति पुरस्कारले सम्मान गरिएको थियो । यद्यपि युद्ध तत्काल समाप्त भएन र उहाँका उत्तरी भियतनामी समकक्षी ले डक थोले उक्त पुरस्कार लिन अस्वीकार गर्नुभयो

वाटरगेट काण्डपछि निक्सन राष्ट्रपति पदबाट बर्खास्त हुनुभयो र किसिन्जरले उहाँका उत्तराधिकारी जेराल्ड फोर्डको नेतृत्वमा काम गर्नुभयो । आफ्नो प्रभाव प्रतिविम्बित गर्ने अभूतपूर्व व्यवस्थामा किसिन्जरले एकैसाथ मुलुकको शीर्ष कूटनीतिज्ञ विदेशमन्त्री र राष्ट्रपतिको दाहिने हात मानिने राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा काम गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button