समाचार

सेनाका तस्बिर तथा युनिट विशेष प्रदर्शनी

काठमाडौँ, ९ माघ : नेपाली सेनाले सङ्गठन स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्बिर र युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्बिर, हातहतियार र उपकरण राखिएको उक्त प्रदर्शनीको आज एक समारोहबीच उद्घाटन गर्नुभयो । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।

प्रदर्शनी अवलोकनबाट सैनिकसम्बन्धी पोसाक, ब्यान्ड, हवाई सेवा, घोडचढी, जङ्गल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त हुनेछ ।

सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायत गतिविधि र श्रव्यदृश्य सामग्रीको समेत प्रदर्शनीमा समेटिएको छ । आमनागरिकलाई सेनासम्बन्धी विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित प्रदर्शनी अबलोकनका लागि यही माघ १३ गतेसम्म १० देखि अपराह्न ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था छ ।

प्रदर्शनीबाट सर्वसाधारण र विद्यार्थीलाई सेनाका विभिन्न गतिविधिबारे जानकारी लिन सजिलो हुनेछ ।

समारोहमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले सेनाको गौरवमय इतिहास र वर्तमानलाई समेटेर जिम्मेवारीका क्रममा गरेका मुख्य–मुख्य कामलाई समेटेर गरिएको प्रदर्शनीबाट हातहतियार, पोसाक र सम्बद्ध सैन्य सामग्रीबारे नागरिकलाई जानकारी प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच, सोही अवसरमा नेपाली सेनाद्वारा आयोजित फोटो प्रतियोगितामा रामबाण गुल्म प्रथम, विशेष फौज वाहिनी दोस्रो र श्रीमेहर गण तेस्रो घोषित भए । प्रतियोगितामा १७ नम्बर वाहिनी, रणशेर गण, खड्गदल गण, भवानी बक्स गण, अर्जुनबाण, भगवती दल गण र सैनिक आवासीय महाविद्यालय पोखराले सान्त्वना पुरस्कार प्राप्त गरे ।

उक्त प्रतियोगितामा अन्तर्गत गैरसैनिकविधातर्फ सिद्धार्थ महर्जन प्रथम, सफल प्रकाश श्रेष्ठ द्वितीय र वर्षा शाह तृतीय हुनुभयो । प्रतियोगितामा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।

उहाँहरुलाई प्रधानसेनापति शर्माले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button