आदिवासीमनोरञ्जन

मण्डला नाटकघरमा ‘मासिन्या’

काठमाडौँ, १२ माघ : तामाङ समुदायले लामो समयदेखि भोग्दै आएका विभिन्न समस्यालाई समेटेर तयार गरिएको नाटक ‘मासिन्या’ को नियमित मञ्चन थापागाउँस्थित मण्डला थिएटरमा भइरहेको छ । यही माघ २८ गतेसम्म चल्ने उक्त नाटकमा विभेदविरुद्धको सिर्जनात्मक हस्तक्षेपलाई प्रस्तुत गरिएको लेखक राजु स्याङ्तानले बताउनुभयो ।

“नाटकले सुन्दर तामाङबस्ती कसरी रित्तिँदै गएको छ भन्ने कथा प्रस्तुत गर्छ, हामीले कथा र कवितामार्फत आवाज उठाउँदै आएका थियौँ, त्यो पर्याप्त नभएपछि नाटक तयार गरेका हौँ”, लेखक स्याङ्तानले भन्नुभयो । उहाँले मौलिकता बोकेको माटो, पीडाको कथा भन्न नाटकको माध्यम रोजेको बताउनुभयो ।

अर्का लेखक लक्ष्मी रुम्बाले ‘मासिन्या’को रचनादेखि मञ्चन यात्राबारे जानकारी दिनुभयो । “तामाङ समुदायमा नाटकको परम्परा र अभ्यास न्यून देखिए पनि यसले टेवा पुग्ने विश्वास छ, यस नाटकमा तामाङ जीवनको सौन्दर्य, लय, डम्फु संस्कृति र परिवेशलाई चित्रण गरिएको छ, नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न पाउनुहुनेछ”, लेखक रुम्बाले भन्नुभयो ।

नाटकको निर्देशक तथा परिकल्पनाकार अभिनेता बुद्धि तामाङ र सोनाम लामा हुनुहुन्छ । यसमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ, सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रुपेश तामाङ, इङ्गिहोपो कोइँच सुनुवारलगायत कलाकारको अभिनय गरिरहनुभएको छ । करिब ६० प्रतिशत तामाङ कलाकार रहनुभएको नाटक डेढ घण्टाको छ ।

अभिनयसम्बन्धी पाँचदिने कार्यशाला गर्दै बोर्ड

नेपाली चलचित्रकर्मीको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनयसम्बन्धी पाँचदिने कार्यशाला सञ्चालन गर्ने भएको छ । बोर्डमार्फत एक सूचना जारी गर्दै इच्छुकलाई १५ दिनभित्र आवेदन दिन अनुरोध गरिएको बोर्डका सदस्य तथा कार्यशाला संयोजक राजु केसीले जानकारी दिनुभयो ।

“हामीले अभिनयमा इच्छा राख्नेलाई एउटा मार्ग तयार गर्न लागेका हौँ, यहाँ अभिनयसम्बन्धी प्राथमिक कुरा सिकेता पनि अगाडि बढ्ने मार्ग खोज्न सहज हुन्छ”, संयोजक केसीले भन्नुभयो ।

कार्यशाला यही माघ २९ देखि आगामी फागुन ४ गतेसम्म सञ्चालन हुने र कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरी माघ २५ गतेसम्ममा बोर्डको कार्यालय वा इमेल fdbworkshop2024@gmail.com मार्फत आवेदन पेस गर्न सकिने उहाँले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button